पाक्योङ जिल्लाको छुजाचेन निर्वाचन क्षेत्रअन्तर्गत लुङ्चोकमा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको उपस्थितिमा होलिस्टिक इन्स्टिच्युट अफ आयुर्वेदा एण्ड वेलनेस सेन्टरको विधिवत् शिलान्यास सम्पन्न भएको छ।
उक्त कार्यक्रममा आयुष विभागका मन्त्री जीटी ढुंगेल, क्षेत्र विधायक पुरण कुमार गुरुङलगायत विभागीय अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
मुख्यमन्त्री तामाङको उपस्थितिमा हिन्दू, बौद्ध तथा इसाई धर्मगुरुहरूको सहभागितामा धार्मिक परम्पराअनुसार भूमिपूजन, शिलापूजन तथा वृक्षरोपण गरी परियोजनाको शिलान्यास गरिएको हो।
यस परियोजनाको अनुमानित लागत ६०० करोड रुपैयाँ रहेको बताइएको छ। मुख्यमन्त्री तामाङले उक्त परियोजना आगामी तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने बताएका छन्।
