नगरपालिका चुनावलाई ध्यानमा राख्दै पार्टीको सांगठनिक गतिविधि तीब्र पार्दै खरसाङमा अल ईण्डिया कंग्रेस कमिटीको सभा सम्पन्न भएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न उक्त सभामा मुख्य रूपमा कंग्रेस पार्टीको राष्ट्रिय महासचिव एवं बंगालको इन्चार्ज प्रकाश जोशी, राज्य प्रदेश अध्यक्ष शुभंकर सरकार, राज्य कमिटीको उप सभापति डा मुनिष तामाङ लगायत राज्य कमिटी, दार्जिलिङ जिल्ला र कालेबुङ जिल्ला कमिटीका पदाधिकारीहरु साथै खरसाङ ब्लकमा पदाधिकारीहरु उपस्थित रहेका थिए। उक्त सांगठनिक सभालाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै कंग्रेस पार्टीको राष्ट्रिय महासचिव एवं बंगालको इन्चार्ज प्रकाश जोशीले बंगालमा कांग्रेस पार्टी विगत 49 वर्षदेखि सत्तामा नरहेको र विगत 22 वर्षदेखि बंगालमा एकल चुनाव लडेको छैन। तर पनि कंग्रेस पार्टी बाँचेको छ र हालमा कंग्रेस पार्टीमा मानिसहरु आफै आएर सामेल भईरहेका छन् भनी बताएका छन्। उनले बंगालको हरेक ब्लकमा कंग्रेस पार्टी जिउँदो रहेको बताउँदै पार्टीलाई अझ शक्तिशाली रुपमा काम गरेर लगे अनि सांगठनिक रुपमा सक्रिय पारेर लगे कंग्रेस पार्टी सत्तामा आउन सक्छ भनी बताए। सभामा कंग्रेस कमिटीको बंगाल प्रदेश अध्यक्ष शुभंकर सरकारले पनि सम्बोधन गरेका थिए। सभालाई दार्जिलिङ जिल्ला अध्यक्ष सुमिन भौमिकले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण कंग्रेस कमिटी खरसाङ ब्लकको सभापति उदय पोर्तेलले राखेका थिए। सभामा दार्जिलिङ जिल्ला कमिटीको कार्यकारी अध्यक्ष सरोज खत्री लगायत अन्यहरु उपस्थित रहेका थिए।
नगरपालिका चुनावलाई लक्षित गर्दै खरसाङमा कांग्रेसको सांगठनिक सभा, पार्टीलाई थप शक्तिशाली बनाउने प्रकाश जोशीको आह्वान
