बिजनबारी डिग्री कलेजले आफ्नो ३२औँ स्थापना दिवस बिहीबार विविध कार्यक्रमका साथ भव्यतापूर्वक सम्पन्न गरेको छ। महाविद्यालयको प्रेक्षागृहमा आयोजित समारोहको अध्यक्षता कलेजका पूर्वप्राचार्य डा. आरबी भुजेलले गरेका थिए भने दार्जिलिङ विधानसभा क्षेत्रका विधायक नोमन राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए।कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष विमल गुरुङ, भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, केबी वातर, एलएम लामा, मनप्रसाद सुब्बा, सभासद् सतीश पोखरेल, सन्दीप छेत्री, शशी डोमा भोटियालगायत विभिन्न विशिष्ट व्यक्तित्व, संघसंस्थाका प्रतिनिधि तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विधायक नोमन राईले विगतको सरकारले शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिक हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसको प्रत्यक्ष असर सर्वसाधारणले भोग्नुपरेको बताए। उनले विगतका दिनहरू अब बितिसकेको उल्लेख गर्दै राज्यमा नयाँ सरकार गठन भएसँगै शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।
यस अवसरमा भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामा तथा गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष विमल गुरुङलगायत अन्य अतिथिहरूले पनि आ–आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको अवसरमा महाविद्यालयको वार्षिक समाचारपत्रिकाको पनि विमोचन गरिएको थियो।कार्यक्रमलाई थप रोचक बनाउँदै विद्यार्थीहरूले विविध सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
बिजनबारी डिग्री कलेजले भव्यताका साथ मनायो ३२औँ स्थापना दिवस
