विद्यार्थीहरूलाई कलम कपीमा मात्र सीमित नराखेर खेलकुद, कला, साहित्य, सङ्गीत, पर्यावरण संरक्षणमा पनि अग्रसर गराइ रहेको मिरिकको प्रतिष्ठित लुइस अङ्ग्रेजी स्कूलले विश्व पर्यावरण दिवस भव्य रूपमा पालन गरेको छ। यस अवसरमा विद्यार्थीहरूले स्कूल परिसरमा व्यापक सफाई अभियान चलाए भने विभिन्न हाउसहरूमाझ पर्यावरण सम्बन्धी निबन्ध लेखन प्रतियोगिता अनि चित्र बनाऊ प्रतियोगिता पनि सम्पन्न गरियो।
बस अनि चित्र बनाऊ प्रतियोगितामा सहभागी विद्यार्थीहरूले पर्यावरण सम्बन्धी राम्रा राम्रा चित्रहरू बनाए भने निबन्ध प्रतियोगितामा सहभागी विद्यार्थीहरूले पनि धेरै राम्रा राम्रा निबन्ध लेखे। प्रतियोगितामा विजयी बन्ने विद्यार्थीहरूलाई स्कूलका पक्षबाट पुरस्कार प्रदान गरियो।
यस अवसरमा बोल्दै स्कूलका निर्देशक लियोनार्ड सुब्बाले लुइस अङ्ग्रेजी स्कूलले स्थापनाको पचास वर्ष विविध कार्यक्रमसहित पालन गर्ने क्रममा विश्व पर्यावरण दिवस पनि पालन गरिएको बताए। पर्यावरण दिवसमा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका बताउँदै तिनले विद्यार्थीहरूलाई सम्पूर्ण शिक्षा प्रदान गर्न लुइस अङ्ग्रेजी स्कूलले सक्रिय कार्य गरिरहेको साथै भविष्यमा पनि यसरी नै शिक्षादान गर्ने प्रतिबद्धता जनाए।



