सिक्किम राज्य मानवअधिकार आयोगकी नवनियुक्त अध्यक्ष तथा पटना उच्च न्यायालयकी पूर्व मुख्य न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राईले आज लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेटवार्ता गरिन्। आयोगको अध्यक्ष पदको कार्यभार सम्हालेपछि राज्यपालसँग राईको यो पहिलो औपचारिक भेट हो। भेटका क्रममा उनले आयोगको कार्यप्रणाली, भावी योजना तथा मानवअधिकारसम्बन्धी जनचेतना अभिवृद्धिका लागि भइरहेका प्रयासबारे राज्यपाललाई जानकारी गराइन्। राज्यपाल माथुरले राईलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै उनको व्यापक न्यायिक अनुभव र नेतृत्वमा आयोगले नागरिकको मानवअधिकार संरक्षणका लागि प्रभावकारी रूपमा कार्य गर्ने विश्वास व्यक्त गरे। साथै, उनले राईको सफल तथा फलदायी कार्यकालका लागि शुभकामना व्यक्त गरे।


