सुकुना गेम्स एण्ड स्पोर्ट्स एसोसिएसनका वर्तमान अध्यक्ष अजय शर्माको नेतृत्वमा सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएसन (SGSA), सुकना गोर्खा पूर्व सैनिक सङ्गठन तथा सुकना ग्राम वेलफेयर समितिको संयुक्त प्रतिनिधिमण्डलले दार्जीलिङका लोकसभा सांसद राजु विष्टसँग भेटवार्ता गर्दै सुकना क्षेत्रको खेलकुद पूर्वाधार विकास तथा आगामी गोल्डकपबारे छलफल गऱ्यो। भेटघाटका क्रममा SGSA का अध्यक्ष अजय शर्मा, सचिव लेखनाथ गिरी लगायत सम्पूर्ण कार्यसमिति तथा संयुक्त प्रतिनिधिमण्डलले सुकना खेल मैदानमा आधुनिक स्टेडियम निर्माण गर्नुपर्ने मागसहित सांसदलाई ज्ञापन सुम्पियो। सांसद सम्बन्धित अधिकारीसित सम्पर्क गर्नुका साथै प्रस्तावित स्टेडियम निर्माण परियोजनाको अवस्थाबारे जानकारी लिँदै निर्माणको प्रक्रिया यथाशीघ्र अघि बढाउन आवश्यक पहल गरिइने टोलीलाई आश्वासन दिएको जनाइएको छ। यसैबीच, आउँदो २०औँ सुकना गोल्ड कप’ फूटबल टुर्नामेन्टको तयारीबारे पनि प्रतिनिधिमण्डलले सांसदलाई अवगत गराएको जनाइएको छ। सांसदलाई भेट्ने संयुक्त टोलीमा एसोसिएसनका संस्थापक सदस्य डीबी थापा, शत्रुघन पोखरेल, दिलीप छेत्री, पारसमणि मंगर, ओमबहादुर गुरूङ, कुन्दन ठाकुर, सुकना पञ्चायत प्रधान हेमावती तामाङ, चन्द्रशेखर भण्डारी, आशा लिम्बू, सीता शर्मा, उप-प्रधान कृति उराउँ, ब्रिजेश प्रसाद, सबिता सुब्बा, सीमा थापा, निरेन लामा, सागर शर्मा, सौरभ छेत्री, पारस दाहाल आदिको उपस्थिति थियो।


