केही वर्ष बन्द रहेपछि फेरि उत्तर बङ्गालभरि अहिले नक्कली नोटको कारोबारमा वृद्धि भएको छ। गुप्तचरहरूको अनुमानअनुसार चिकेन्स नेक वा सिलगढ़ी कोरिडोर क्षेत्रमा अशान्ति फैलाउने योजनाअन्तर्गत नक्कली नोट फैलाइँदैछ। यसका लागि बङ्गलादेशको भूमिको प्रयोग गरिँदैछ। यस षड़यन्त्रको पछाड़ि पाकिस्तानको गुप्तचर संस्था आईएसआईको संलग्नता हुन सक्ने सम्भावना रहेको गुप्तचर सूत्रले जनाएको छ। पछिल्ला अढाई महीनामा भएका विभिन्न घटनाको जाँचका क्रममा धेरै महत्त्वपूर्ण तथ्यहरू पुलिसको हातमा लागेका छन्। अनुसन्धानकर्ताहरूअनुसार सबैभन्दा धेरै नक्कली नोट मालदा सीमाबाट तस्करी भइरहेको छ। लगातारको अभियानका कारण लगभग पाँच वर्षसम्म उत्तर बङ्गालको सीमाको प्रयोग गरेर नक्कली नोट तस्करीको काम बन्द रेहेको गुप्तचरहरूको भनाइ छ।
तर बङ्गलादेशको अवस्था परिवर्तन हुन थालेपछि परिस्थिति पनि बदलिन थालेको छ। केही वर्षअघि बङ्गलादेश सरकारले धेरै नक्कली नोटका कारोबारीहरूलाई पक्राउ गरेको थियो। तर गत वर्ष जुलाई–अगस्तको आन्दोलनका कारण शेख हसीना सरकार पतन हुने समयमा धेरै जेलबन्दी अपराधीहरू भागेका थिए। तीमध्ये ठूलो हिस्सा नक्कली नोटका कारोबारी थिए। नक्कली नोट तस्करी गर्नु र पैसाको बदलामा मानिसको हत्या गर्नु नै उक्त गिरोहको काम थियो। सूत्रअनुसार हाल त्यसै गिरोहलाई प्रयोग गरेर भारत विरोधी विभिन्न कार्यकलाप गराइँदैछ। उत्तर बङ्गालमा लागु औषधी र नक्कली नोटको कारोबार बढ़ाइँदैछ। मालदाका पुलिस अधीक्षक अभिजीत बन्द्योपाध्यायले भने, हालै भएका दुई घटनामा वैष्णवनगर र इङ्ग्लिशबजार थाना क्षेत्रबाट लगभग 24 लाख रुपियाँ नक्कली नोट जफत गरिएको छ। सबै घटनामा सीमापारिको संलग्नता रहेको मानिएको छ। सिलगढ़ी रेल्वे पुलिस अधीक्षक कुनवर भूषण सिंहले भने, पछिल्ला केही दिनमा ठूलो परिमाणमा नक्कली नोट जफत गरिएको छ। धेरै व्यक्तिहरू पक्राउ पनि परेका छन्। हामी निगरानी गरिरहेका छौँ। एसआरपी कार्यालय सूत्रअनुसार यस गिरोहका थप पाँचजनालाई पहिचान गरिएको छ। घटनामा असम, झारखण्ड र पश्चिम बङ्गालका धेरै व्यक्तिहरू संलग्न हुन सक्ने सम्भावना छ। गुप्तचर सूत्रअनुसार पक्राउ परेका व्यक्तिहरूलाई केरकार गर्दा नक्कली नोटहरू बङ्गलादेशमै तयार गरिँदै आएको खुलासा भएको छ। त्यसपछि ती नोट मालदा र असम हुँदै उत्तर बङ्गाल प्रवेश गराइन्छ र त्यहाँबाट देशका विभिन्न भागमा पठाइन्छ।
भारत–बङ्गलादेश सीमाका कालियाचक, वैष्णवनगर र इङ्ग्लिशबजार थाना क्षेत्र हुँदै नक्कली नोट भारत प्रवेश गराइँदैछ। जफत गरिएका नोटहरू अत्यन्तै उच्च गुणस्तरका छन्। नक्कली नोटका झोला सीमापारिबाट प्याकेटमा बाँधेर बीएसएफको निगरानी छल्दै यसपारि फ्याँकिन्छन्। यसबाहेक नदी मार्ग प्रयोग गरेर पनि नक्कली नोट भारत पठाइँदैछ। यस कामका लागि ठूलो कमिसनको प्रलोभनमा कम्ती उमेरका युवाहरूलाई नियुक्त गरिएको छ जसले मोथाबाड़ी क्षेत्रबाट गङ्गा नदी पार गराएर सजिलै झारखण्डसम्म नक्कली नोट पुर्याकइदिन्छन्। त्यसै गरी चाँचलबाट राष्ट्रिय सड़क प्रयोग नगरी बाइपास मार्ग हुँदै नक्कली नोट बिहार पुर्याूइँदैछ। केवल अढ़ाई महीनाभित्र रेल्वे पुलिसद्वारा गरिएका चार अलग–अलग अभियानमा केही लाख रुपियाँ जफत गरिएको छ र पाँचजनालाई पक्राउ गरिएको छ। यसै अवधिमा उत्तर बङ्गालमा 36 लाख रुपियाँ बराबरका नक्कली नोट प्रशासनले जफत गरेको छ। समग्रमा पक्राउ पर्नेको सङ्ख्या नौ पुगेको छ।



