सशस्त्र सीमा बल (एसएसबी)को आठौँ वाहिनीद्वारा सीमावर्ती क्षेत्रका युवतीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यमा आयोजित 30 दिने ब्युटिशियन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। वाहिनीका कमाण्डेण्ट मितुल कुमारको मार्गदर्शनमा बाघखोर क्षेत्रमा यस तालिमको समापन कार्यक्रम आयोजना गरियो। देशबन्धु व्यावसायिक प्रशिक्षण संस्थान, सिलगढ़ीद्वारा सञ्चालित यो प्रशिक्षण कार्यक्रम गत 18 दिसम्बरदेखि 17 जनवरीसम्म चलेको थियो। मिरिक र यसको वरिपरि क्षेत्रका मोठ 35 जना युवतीहरूले यस व्यावसायिक ब्युटिशियन तालिममा सहभागिता जनाएका थिए। यस तालिमले सीमावर्ती क्षेत्रका युवतीहरूलाई आफ्नै गाउँ-ठाउँमा बसेर सीप सिक्ने सुविधा प्रदान गरेको छ।
समापन समारोहलाई सम्बोधन गर्दै आठौँ वाहिनीका कमाण्डेण्ट मितुल कुमारले भने, सेवा, सुरक्षा र बन्धुत्वको मूल मन्त्रसित सशस्त्र सीमा बल तपाईँहरूको सेवा र सुरक्षाका लागि सधैँ तत्पर छ। यस प्रशिक्षणको मुख्य उद्देश्य तपाईँहरूलाई आत्मनिर्भर बनाउनु र सम्मानपूर्वक जीवन बिताउन सहयोग गर्नु हो।
कार्यक्रममा मिरिक उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक सुभास खाती मुख्य अतिथिको रूपमा उपस्थित रहेका कार्यक्रममा एसएसबीका अधिकारीहरू मुकेश कुमार, राहुल नैन, चन्द्रसैन कुमार लगायत शिक्षकहरू, स्थानीय ग्रामीणहरूको उपस्थिति रहेको थियो। तालिम समापनको अवसरमा प्रशिक्षार्थीहरूलाई ब्युटिशियन पाठ्यक्रमबारे विस्तृत जानकारी दिँदै विभिन्न सामाजिक अभियानहरूबारे पनि जागरूक गराइयो।



