इण्डियन गोर्खा जनशक्ति फ्रण्टअन्तर्गत मिरिक महकुमा श्रमिक सङ्गठनले चिया श्रमिकहरूको न्यूनतम मजदुरी सुनिश्चित गर्न तत्काल कदम चाल्ने माग गर्दै पश्चिम बङ्गालका श्रममन्त्री मलय घटकलाई औपचारिक रूपमा पत्र पठाएको छ। मिरिक श्रमिक सङ्गठनका प्रतिनिधिहरूले डाक विभागमार्फत उक्त पत्र पठाएका हुन्। श्रमिकहरूले पठाएका पत्रमा उल्लेख गरेअनुसार विश्वकै सबैभन्दा कम्ती ज्यालामा काम गर्न बाध्य चिया श्रमिकहरूको जीवन स्तर दयनीय बन्दै गइरहेको छ। धेरै महँगो समयमा न्यूनतम ज्याला नपाउनु, शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा पहुँच नहुनु आदि समस्याले चियाबारी क्षेत्रका श्रमिकहरू थप सङ्कटमा पर्ने अवस्थाले सबैलाई चिन्तित बनाएको छ। मिरिक महकुमा श्रमिक सङ्गठनका सचिव अनिल रानाले वर्तमान परिस्थिति गम्भीर रहेको बताउँदै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।
सचिव रानाले भने, चुनाउ आउनअघि सरकारले अनेकौँ योजना र परियोजनाहरूको घोषणा गर्छ तर चिया श्रमिकहरूको हितमा कहिल्यै ठोस पहल गर्दैन। दशकौँदेखि न्यूनतम मजदुरी कार्यान्वयनको माग उठिरहेको छ। तर सरकारले सुनुवाइ गर्न चाहेको छैन। रानाले यदि राज्य सरकारले श्रमिकहरूको न्यूनतम मजदुरी सम्बन्धी मागलाई पुनः अदेखा गरे श्रमिक सङ्गठन कठोर आन्दोलनको बाटोमा जान बाध्य हुने चेताउनी दिए। तिनीहरूअनुसार, हाल चिया श्रमिकहरूलाई प्रदान गरिने दैनिक ज्याला वर्तमान बजार मूल्यअनुसार थोरै छ। महँगी, घर खर्च, औषधोपचार, बालक-बालिकाको शिक्षा तथा अन्य आवश्यकताहरू धान्न श्रमिकहरू दिन दिनै सङ्घर्षरत छन्। आर्थिक सङ्कटका कारण धेरै श्रमिक परिवारहरू ऋण, कुपोषण र असुरक्षित स्थितिमा बस्न बाध्य रहेका पनि पत्रमा उल्लेख गरिएको छ।
राज्य सरकारलाई तत्काल न्यूनतम मजदुरी दर तोक्न, ज्यालामा पारदर्शिता सुनिश्चित गर्न र चिया श्रमिकहरूको सामाजिक–आर्थिक सुरक्षाका लागि दिगो नीतिहरू लागू गर्न श्रमिक सङ्गठनले माग गरेको छ। चिया उद्योग राज्यको महत्त्वपूर्ण आर्थिक आधार स्तम्भ भएकाले श्रमिकहरूको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व रहेको पनि श्रमिक सङ्गठनको भनाइ छ। राज्य सरकारले यस मागप्रति कस्तो कदम चाल्छ भन्ने विषयमा अहिले औपचारिक प्रतिक्रिया आइसकेको छैन। श्रमिकहरू भने आफ्नो माग पूरा नभएसम्म सङ्गठित रूपमा आन्दोलनको कार्यक्रम अघि सार्ने तयारीमा छन्।



