अफगानी नागरीकको जाली कागजपत्र बनाउने दुई व्यक्तिहरुलाई कालेबुङ जिल्ला पुलिसले गत राती पक्राउ गरेको छ। घतनालाई लिएर व्यापक छानबिन गरिरहेको कालेबुङ थानाको टोलीले जलपाइगुडीको मालबजार थाना क्षेत्रका विभिन्न स्थानमा छापा मारेर माल नगरपालिका कार्यालयका क्लर्क प्रसञ्जित दत्तलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा दत्तले मेटेली क्षेत्रका एक दलालको सहयोगमा उक्त नक्कली जन्म प्रमाणपत्र तयार गरेको खुलासा गरेका छन्।
उनको बयानका आधारमा पुनः छापा मारिएको थियो भने त्यसक्रममा नक्कली जन्म प्रमाणपत्र तयार गर्न सहयोग गरेको आरोपमा मेटेली क्षेत्रबाट असाम खान नाम गरेका एक दलाललाई पनि पुलिसले पक्राउ गरिएको छ।
पक्राउ परेकाहरूलाई कालेबुङ थानामा ल्याइएको अनि आज अदालतमा पेश गरिनेछ।
स्मरण रहोस् गत 18 तारीखको दिन गोप्य सुचनाको आधारमा कालेबुङ जिल्ला पुलिसले सैयद बिलाल खान नामक एकजना 28 वर्षिय अफगानिस्तानी नागरीकलाई पक्राउ गरेको थियो। कालेबुङमा लामो समयदेखि फर्जी कागजपत्र बनाएर गैरकानुनी ढङ्गमा भारतमा बसिरहेका उक्त नागरिकलाई अघिबाटै कोर्टमा उभ्याइ सकिएको छ। सोही मुद्दालाई लिएर छानबिन गर्ने क्रममा पुलिसले अन्य दुई दोषीलाई पक्राउ गरेको हो। यश विषयमा थप अनुसन्धान चलिरहेको पनि थाहा लागेको छ।

