बिहानैदेखि विवाहको तयारी तीव्र चलिरहेको थियो। घर पूरै सजिएको थियो, बाजा बजिरहेको थियो, वातावरण रमाइलो थियो। आफन्तहरूको हाँसो-खुशीबीच सबैजना शुभ घड़ीको परीक्षामा थिए। समय बित्दै जाँदा बेहुला पनि विवाहको तयारीमा थिए। विशेष शेरवानी लगाएर घरबाट गाड़ी चढ्ने बेलामा अचानक वातावरण पूर्ण रूपले परिवर्तन भयो। घरअघि एक गाड़ी पुलिसहरू आइपुगे।
जन्तीहरूमा फुस्सफुस्स कुराकानी आरम्भ भयो। त्यति नै बेला एक पुलिस अधिकारीले बेहुलालाई हेर्दै भने, तपाईँको एरेष्ट वारेण्ट छ। तपाईँविरुद्ध प्राथमिकी दर्ता भएको छ। हामीसित थाना हिड्नुहोस्। आइतवार यस्तो घटना चम्पासरी क्षेत्रमा भएको हो। शेरवानीमा सजिएर बेहुलीको घर जानुपर्ने बेला उक्त युवकलाई जानुपऱ्यो सिलगढ़ी महिला थानामा। पक्राउ परेका युवकको नाम उमेश ठाकुर हो। तिनलाई सोमवार सिलिगढ़ी सब-डिभिजन न्यायालयमा प्रस्तुत गरियो। प्रेममा धोका दिएको आरोपमा उक्त युवक पक्राउ परेका हुन्। पूर्व प्रेमिकाले प्रतिशोध लिनकै लागि उमेशको विवाहको दिन सिलगढ़ी महिला थानामा पुगेर प्राथमिकी गरेकी थिइन्। पूर्व प्रेमिकाले लिखित प्राथमिकीमा भनिन्, विवाह गर्ने वाचा गरेर उमेशले धेरैपटक मसित शारीरिक सम्बन्ध बनायो। अहिले मलाई धोका दिएर अर्कै केटीलाई बिहे गरिरहेको छ। अर्की युवतीको जीवन पनि बर्बाद गर्दैछ। उसलाई रोक्नुहोस्।
मतिगढ़ा क्षेत्रकी उक्त युवतीले दाबी गरेअनुसार तिनी अनि उमेशको सन् 2015 मा परिचय भएको थियो। बिस्तारै तिनीहरूको प्रेम सम्बन्ध गहिरो भयो। विवाहको कुराकानी पनि चल्न थालेको थियो। पुलिसलाई दिइएको प्राथमिकीमा युवतीले भनेकी छन्, उमेशले विवाहको वाचा गरेर मसित शारीरिक सम्बन्ध बनायो। केही समयअघि मात्र तिनीहरू घुम्न समेत गएका थिए। तर 10 वर्षको सम्बन्ध आइतवार बिहानको एउटा फोनले टुट्यो। उक्त युवतीले साथीहरूबाट थाहा पाइन् कि उमेशको आज विवाह हो। आँखा रसाउँदै युवती भनिन्, आज बिहान मात्र पनि उमेशसित मेरो कुराकानी भएको थियो। उमेशले अर्की युवतीसित विवाह गर्दैछ भन्ने मलाई पटक्क थाहा थिएन। साथीहरूबाट त्यो खबर सुनेर उसको घर पुग्दा मेरो होस उड्यो। त्यसपछि म न्याय माग्न थानामा आएँ। पुलिस सूत्रअनुसार, साँझ उमेश इस्लामपुरकी एउटी युवतीसित विवाह गर्न जाँदै थिए। तर यसैबीच इस्लामपुरकी उक्त बेहुलीप्रति पनि पुलिसलाई केही सहानुभूति लागेको थियो। एकजना पुलिस अधिकारीले भने, इस्लामपुरकी उक्त बेहुलीको विवाह पनि बर्बाद भयो। तर केही गर्न सकिँदैन। बेहुलाले अर्की युवतीको जीवन पनि बर्बाद गरिदिएको छ।



