छिमेकी देश नेपालको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै भारत नेपाल सीमामा रहेको सीमा चौकीहरूमा भारतीय सुरक्षा कर्मीहरूको चहल पहल बढ़ेको छ। यी सीमा चौकीहरूमा उच्च पदस्थ अधिकारीहरूको भ्रमण अनि सभाहरू पनि भइरहेका छन्। यही क्रममा बिहीवार भारत नेपाल सीमाअन्तर्गत पशुपति फाटकको सीमा चौकीमा एसएसबीका एडीजी सीआईएफ, आईजी नर्थ बङ्गाल अनि एसपी दार्जीलिङ लगायतका वरिष्ठ सुरक्षा अधिकारीहरूले सिमानमा तैनाथ सुरक्षाकर्मीहरूसित भेट गरी वर्तमान स्थितिबारे विस्तृत चर्चा गरेका जानकारी प्राप्त भएको छ।
यस अवसरमा नेपालको वर्तमान स्थिति, सीमा क्षेत्रमा पर्ने प्रभाव अनि शान्ति शृङ्खला कायम राख्ने विषयमा चर्चा गरिएको बताइएको छ। जेन जी आन्दोलनपछि नेपालमा सिर्जना भएको वर्तमान स्थितिको कारण भारत नेपाल सीमामा पश्चिम बङ्गाल पुलिस अनि एसएसबीका जवानहरू सक्रिय बनेका छन् भने नियमित गस्ती लगाउने कार्य भइरहेको छ।
नेपालको आन्दोलन अनि खुल्ला सीमाको फाइदा कुनै पनि अनुप्रवेशकारीले नउठावोस् भन्ने ध्येयले सुरक्षाकर्मीहरूले सीमा क्षेत्रमा कठोर निगरानी गरिरहेका छन्। सुरक्षाकर्मीहरूले नाकाहरूमा नियमित ओहोर दोहोर गर्ने वाहनहरूलाई रोकेर तलासी गरिरहेका छन् भने सन्देहजनक मानिसहरूलाई सोधपुछ पनि गरिरहेका छन्। सीमावर्ती क्षेत्रमा कुनै अशान्ति अनि गैरकानूनी क्रियाकलाप हुन नदिन पनि सुरक्षाकर्मीहरूले अभियान चलाइरहेका छन्। मिरिक महकुमाको धेरैवटा गाँउहरू नेपाल सीमासित जोड़िएका छन्। यस्तो अवस्थामा उपद्रवीहरूले खुल्ला सीमाको लाभ उठाएर कुनै पनि गैरकानूनी कार्य गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर पश्चिम बङ्गाल पुलिस अनि एसएसबीका जवानहरूले निगरानी बढ़ाएका छन्।



