विश्वकर्मा पूजाको राति भीषण आगलागी हुँदा दुईवटा दर्जी दोकान पूरै जलेर खरानी भएको छ। घटना खोरीबारी बजारमा भएको हो। आगलागीमा अर्डरका धेरै लताकपड़ा जलेका छन्। पूजाको ठीक अघिल्लो दिन भएको क्षतिले दर्जी र ग्राहकहरूलाई ठूलो नोक्सान गरेको छ।थाहा लागेअनुसार खोरीबारी थानानजिक उक्त बजारमा दुई दाजु-भाइको दर्जी पसलमा राति लगभग 2 बजी आगो लागेको हो।
घटनाको समयमा एक पसलभित्र मालिक विश्वजीत दास सुतिरहेका थिए। तिनको छेउमै दाइ उत्तम दासको पसल पनि थियो। ठूलो आवाज र आगोको ज्वाला देखेर विश्वजीत बाहिर निस्किए। त्यति बेला तिनले दाइको पसल हुरुरु जलिरहेको देखे। केही मिनटमै आगो विश्वजीतको पसलमा पनि सल्कियो।त्यसपछि खोरीबारी पुलिस र दमकललाई खबर दिइयो। पहिले खोरीबारी पुलिस र स्थानीय वासिन्दाहरूले आगो निभाउने प्रयास गरे। पछि नक्सलबारीबाट आएको दमकलको एउटा गाड़ीले आगो नियन्त्रणमा ल्यायो। तर त्यति बेलासम्म दुवै पसल पुरै जलेर खरानी भइसकेका थिए।
स्थानीय तथा क्षतिग्रस्त व्यापारीहरूको अनुमानमा सर्टसर्किटकै कारण यो भीषण आगलागी भएको हो। पूजाको ठीक अघिल्लो राति लगभग 10 लाख रुपियाँको क्षति भएको दाबी पसल मालिकहरूले गरेका छन्। साथै आगो अन्य पसलमा समेत फैलने डर बनेको थियो। तर दमकलको सतर्कताले ठूलो दुर्घटना टार्न सकिएको हो।खोरीबारी व्यापारी समितिको तर्फबाट क्षतिग्रस्त व्यापारीलाई सहयोग गर्न प्रशासनसमक्ष आग्रह गरिएको छ। समितिका सचिव वृज बिहारी प्रसादले भने, एकै पङ्क्तिमा सयभन्दा अधिक पसल थिए। सही समयमा दमकल नआएको भए खोरीबारी बजारको भयावह अवस्था हुने थियो। तर दुईवटा पसलमा पूजाअघि ठूलो क्षति भयो।



