केही समयको अन्तरालमै एउटै पिकअप भ्यानले दुईवटा मोटर साइकललाई ठक्कर दियो। यसै क्रममा दुई मोटर साइकल सवारको मृत्यु भएको छ। मृत व्यक्तिहरूमध्ये एकजना पानीकौरी ग्राम पञ्चायत क्षेत्रका तृणमूल अध्यक्ष थिए। घटनाले क्षुब्ध जनसाधारणले भ्यानमा आगो लगाइदिए। मङ्गलवार साँझ एउटै पिकअप भ्यानको ठक्करले दुईजनाको मृत्यु भएपछि राजगञ्ज अशान्त बन्यो। पिकअप भ्यानले मोटर साइकल सवारलाई किल्चिँदातृणमूल नेताको मृत्यु भयो। तिनको नाम उत्तम राय (37) हो। त्यसको केही समयपछि त्यसै पिक भ्यानले अर्को मोटर साइकललाई पनि ठक्कर दिँदा त्यसमा सवार व्यक्तिको मृत्यु भयो। तिनको नाम मलिन राय (18) हो। त्यसपछि आक्रोशित मानिसहरूले उक्त पिकअप भ्यानमा आगो लगाइदिए। पुलिसले घटनाको जाँच आरम्भ गरेको छ।
उक्त दिनको दुर्घटना राजगञ्ज ब्लकअन्तर्गत शिकारपुर र पानीकौरी क्षेत्रमा भएको हो। दुर्घटनापछि आक्रोशित जनताले पिकअप भ्यानलाई सड़क छेउको नालामा खसालेर आगो लगाएको आरोप छ। खबर पाएलगत्तै जलपाइगढ़ी जिल्लाको राजगञ्ज थाना र बेलाकोबा पुलिस फाँड़ीको टोली घटनास्थलमा पुग्यो। त्यसपछि घटनाबारे पुलिस र स्थानीय मानिसहरूबीच भनावैरी आरम्भ भयो र लगभग एक घण्टासम्म सड़क अवरोध चल्यो। त्यो समय सवारी आवागमन ठप्प भयो।
पुलिस सूत्रअनुसार मङ्गलवार साँझ बटतला तर्फबाट आउँदै गरेको पिकअप भ्यानले शिकारपुर ग्राम पञ्चायतअन्तर्गत सरकारपाड़ा क्षेत्रमा एउटा मोटर साइकललाई ठक्कर दियो। दुर्घटनामा मोटर साइकल चालक मलिन राय (18) गम्भीर रूपले घाइते भए। तिनलाई तुरुन्तै राजगञ्ज ग्रामीण अस्पताल उपचारका लागि लगे पनि ड्युटीमा रहेका चिकित्सकले तिनलाई मृत घोषणा गरे। त्यसको केही समयपछि सोही पिकअप भ्यानले पानीकौरी ग्राम पञ्चायतअन्तर्गत बाघडुग्रा अफिस मोड़ क्षेत्रमा अर्को एक मोटर साइकल सवारलाई ठक्कर दियो। गम्भीर अवस्थामा तिनलाई सिलगुढ़ीको एक निजी अस्पताल लगिए पनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषणा गरे। मृत उत्तम राय पानीकौरी ग्राम पञ्चायतका क्षेत्रीय अध्यक्ष थिए।



