भारत-नेपाल सीमा ओकेटी चियाबारीको आठ माइलदेखि खड़कासम्म पुगेको सड़क मरम्मतीका लागि वर्कक अर्डर भए पनि हालसम्म सड़क मरम्मती नभएको स्थानीय मानिसहरूले गुनासो गर्दै आइरहेका छन्। शीघ्र यस सड़कको मरम्मती गरिदिने तिनीहरूले माग पनि गर्दै आइरहेका छन्।
स्थानीय राजु बम्जन अनि प्रीतम तामाङले उक्त सडक मरम्मतीका लागि टेण्डर भएर जनवरी महीनामा नै वर्क अर्डर निस्किएको भए पनि आजसम्म सड़कको मरम्मती नभएको बताए। हालसम्म सड़कको मरम्मती नहुँदा यातायातमा स्थानीय मानिसहरूले धेरै समस्या झेल्न परिरहेका तिनीहरूले थप बताएका छन।
यस सड़कलाई ओकेटीको जीवन रेखा नै मानिन्छ। तर यस सड़कको अलकत्रा उप्किएको, ढुङ्गाको सोलिङ उप्किएर खाल्डा परेको अनि नालाहरू अव्यवस्थित भएको कारण सड़कमा ओहोर दोहोर गर्ने विद्यार्थी, चिया श्रमिक, रोगी, व्यापारी लगायत स्थानीय मानिसहरूलाई धेरै समस्या भइरहेको छ। सड़कको शीघ्र मरम्मती नभए यहाँ सड़क दुर्घटना हुने प्रबल सम्भावना रहेको छ। वर्क अर्डर भएर पनि सड़कको मरम्मती नहुनु उदेकको कुरो रहेको बताउँदै राजु बम्जन अनि प्रीतम तामाङले यसतर्फ प्रशासनको ध्यान आकर्षण गराएका छन्। शीघ्र सड़क मरम्मतीसितै नाला झोड़ाहरू पनि व्यवस्थित गरिनुपर्ने तिनीहरूले माग गरेका छन्।



