फूलबारी 1 ग्राम पञ्चायत क्षेत्रको बर्काभिट्टाका वासिन्दा तपन राय जलपाइगढ़ी जिल्लाको एउटा हाई स्कूलमा शिक्षकको रूपमा कार्यरत थिए। तर सर्वोच्च न्यायालयको आदेशपछि नोकरी रद्दपछि तिनको वेतनसमेत रोकिएको छ। अर्कातिर तिनले एक सरकारी ब्याङ्ककबाट चार लाख रुपियाँ ऋण लिएका थिए। उक्त ऋणको दुई किस्ता पहिले नै बाउन्स भइसकेका छन्। ब्याङ्कका प्रबन्धकले बारम्बार फोन गरेर रकम माग गरिरहेका छन्। तर तपन भने असहाय छन्। सम्पूर्ण परिवारको जिम्मावारी तपनको काँधमाथि छ। ब्याङ्कबाट लगातार फोन आउँदा ऋणको किस्ता कसरी तिर्ने भनेर तिनले सोच्न सकेका छैनन्। शिक्षकहरूसितै नोकरी गुमाउने शिक्षाकर्मीहरूले पनि पुनः परीक्षामा बस्नुपर्ने मङ्गलवार मुख्यमन्त्रीले घोषणा गरिन्। तिनीहरू परीक्षामा उत्तीर्ण भए फेरि जागिर पाउने सम्भावना छ। यद्यपि त्यसमा पनि धेरै जटिलता छन्। तर ब्याङ्क त यी सबै बुझ्न चाहँदैन। दुई महीनाको किस्ताको माग गर्दै दिन-रात फोन गरिरहेको छ। केवल तपन मात्र होइन ऋण लिएर किस्ता तिर्न नसकिरहेका धेरै नोकरी गुमाउने शिक्षक तथा शिक्षा कर्मीहरू पूर्ण रूपले अन्योलमा छन्। कतिपय शिक्षक अनि शिक्षा कर्मीहरूको घरमै ब्याङ्कले कर्मचारी पठाउन थालेको छ। ऋण तिर्न नसक्ने डरले धेरै नोकरी गुमाउनेहरू घरैबाट भागेर लुक्न बाध्य भइरहेका छन्।
तपनले भने, “ब्याङ्कबाट लगातार फोन आइरहेको छ। परिवारमा आमा, श्रीमती र सानो नानी छन्। किस्ता तिर्न नसक्दा मेरो सिबिल स्कोर बिग्रिसकेको छ। ब्याङ्कका प्रबन्धकले फोन गरेर पैसा माग गरिरहेका छन्। म के भनौ भनेर बुझ्न सकिरहेको छुइनँ।” धूपगुड़ीको गादुङका वासिन्दा अनुप रायले एक सरकारी र एक निजी ब्याङ्कबाट ठूलो रकम ऋण लिएका थिए। तर मई महीनाको किस्ता तिर्न सकेनन्। अर्कातिर, राज्य सरकारले कहिले भत्ता दिने हो भन्ने अनिश्चित छ। अनुपले भने, श्रीमती गर्भवती छ। पूरै परिवारको जिम्मा मेरै काँधमाथि छ। किस्ता तिर्न नसक्दा ब्याङ्कका कर्मचारीहरू घरमा आउन थालेका छन्। निजी ब्याङ्कका कर्मचारीहरू अझ बढ़ी आइरहेका छन्। ब्याङ्कका कर्मचारीहरूबाट बाँच्न म भागिरहेको छु। मानसिक रूपले नै म कमजोर भइसकेको छु।”
गुमाउने शिक्षक अनि शिक्षा कर्मीहरूको समस्यालाई स्वीकार गरे पनि ऋण माफ गर्ने कुनै उपाय नभएको ब्याङ्क अधिकारीहरू नोकरी बताउँछन्। बङ्गीय प्रादेशिक ब्याङ्क कर्मचारी सङ्घका राज्य सहसचिव लक्ष्मी महतोले भने, “सरकारी नोकरीमा रहेकाहरूले विभिन्न ब्याङ्कबाट ऋण लिएका थिए किनभने हाम्रो धेरै ब्याङ्कहरूसित सम्पर्क छ। त्यसैले हामीलाई थाहा भएको हो। अब यदि किस्ता तिर्न सकेनन् भने ब्याङ्कले नोटिश पठाउनेछ।” लक्ष्मीले अझ भने, “यस मामिलामा नोकरी गुमाउनेहरूलाई कुनै सहयोग गर्न सकिँदैन। आरबीआईको नियमअनुसार ऋणको किस्ता उठाउने प्रक्रिया निकै कठोर बनाइएको छ। धेरैजना निश्चित रूपमा समस्यामा पर्नेछन्।”



