व्यवसायीहरूको लामो समयदेखि उठाइरहेका मागअनुसार गएको वर्ष सेप्टेम्बरमा गयेरकट्टामा हाट शेड निर्माण कार्य आरम्भ भयो। उत्तर बङ्गाल विकास विभागको सहयोगमा 1 करोड़ 82 लाख रुपियाँको लागतमा हाट निर्माण भइरहेको छ जुन अहिले अन्तिम चरणमा छ। साथै जलपाइगढ़ी जिल्ला परिषदको पहलमा गयेरकट्टा हाटमा पेभर ब्लक राखेर सड़क निर्माण गरिएको छ। यी दुवै काम पूरा भएपछि हाटको समस्या धेरै समाधान हुने व्यवसायीहरूको विश्वास छ। तर अझै शौचालय र माछा हाटको शेडको काम सकिएको छैन। व्यवसायी तथा स्थानीय वासिन्दाहरूले ती दुवै काम छिटो सम्पन्न गर्न अनुरोध गरेका छन्।
जलपाइगढ़ी जिल्ला परिषदको नियन्त्रणमा रहेको गयेरकट्टा हाट डुवर्सको पुरानो हाटहरूमध्ये एक हो। यस हाटमा गयेरकट्टा र वरपरका केही चियाबारीका मानिसहरू निर्भर छन्। हाटका पुराना शेडहरू वर्षौँसम्म जीर्ण अवस्थामा रहेको कारण किनमेल गर्न आउने ग्राहकहरू घट्दै गएका थिए। यस समस्याबारे व्यवसायी र स्थानीय वासिन्दाहरूले प्रशासनसमक्ष हाट सुधारको माग गरेका थिए। त्यसपछि उत्तर बङ्गाल विकास विभागले हाट शेड निर्माणको काम आरम्भ गऱ्यो। गयेरकट्टा हाटमा लुगा तथा झोला-ब्याग आदिका लागि आठवटा शेडहरू निर्माण भइसकेका छन् भने माछा हाटको शेड निर्माण कार्य अझै जारी छ। जब यी कामहरू पूरा हुन्छन् हाटको दयनीय अवस्थाको अन्त्य हुने व्यवसायीहरूको विश्वास छ।
जलपाइगढ़ी जिल्ला परिषदको सहायक सभापति सीमा चौधरीले भनिन्, हाटको अतिक्रमित जग्गा पुन: प्राप्त गर्नका साथै शेड तथा बाटो निर्माणले व्यवसायी र ग्राहक दुवैलाई सुविधा दिनेछ। हाटको खाली स्थानमा थप शेड निर्माणका लागि हामी मन्त्री उदयन गुहलाई अनुरोध गर्नेछौँ। साथै बाँकी काम छिट्टै पूरा गराउन सम्बन्धित विभागसँग आग्रह गर्नेछौँ। हाट व्यवसायी मैनाक घोषले भने, पहिले हाटमा पानी र हिलोको धेरै समस्या थियो। तर बाटो र शेड बनेपछि वर्षायाममा यो समस्या धेरै कमती हुनेछ। सब्जी व्यवसायी कमल साहले भने, सड़कमा पानी जमेर व्यापारमा धेरै समस्या हुने गर्थ्यो। तर अब यो समस्या समाधान हुनेछ। गयेरकट्टा हाट व्यवसायी समिति सह-सचिव मनोज पटोवाले भने, काम धेरै भइसकेको छ। ग्राहकहरू पनि बिस्तारै हाटतर्फ फर्कन्छन् भन्ने आशा छ। अब बाँकी कामहरू छिट्टै पूरा गराउन प्रशासनसमक्ष अनुरोध गर्नेछौँ।



