प्रधानमन्त्री नरेन्द्र मोदी बाघडुग्रामा आइपुगे। बिहीवार बिहान 9.15 बजी प्रधानमन्त्रीको विमान बाघडुग्रामा हवाईअड्डामा अवतरण भयो। आज भारतमा सिक्किम समावेश भएको 50 औँ वर्षगाँठको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीले पहाड़ी राज्य सिक्किम जाने कार्यक्रम तय थियो। तर खराब मौसमका कारण उक्त भ्रमण रद्द गरियो। बाघडुग्रा विमानस्थलबाट प्रधानमन्त्रीले उक्त कार्यक्रममा भर्चुअल रूपमा सहभागिता जनाए। तिनले सिक्किमको विकासमा साथ रहने प्रतिबद्धता जनाए। भर्चुअल सम्बोधनपछि प्रधानमन्त्री हेलिकप्टरमार्फत अलिपुरद्वारतर्फ प्रस्थान गरे। तिनले अलिपुरद्वाराको परेड ग्राउण्डमा आयोजित जनसभालाई सम्बोधन गरे। आज प्रधानमन्त्रीलाई स्वागत गर्न राज्य सरकारका प्रतिनिधि, सिलगढ़ीका मेयर गौतम देव, जिल्ला अधिकारी प्रीति गोयल, विधायकद्वय आनन्द बर्मन अनि दुर्गा मुर्मू लगायत अन्य उपस्थित थिए। भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले सिक्किमको पर्यटन र अन्य क्षेत्रमा विकासका सम्भावनाबारे चर्चा गरे। तिनले भने, अब आउने 25 वर्षमा सिक्किमलाई नयाँ उँचाइमा पुऱ्याइनेछ। सिक्किम पर्यटनको पूर्ण प्याकेज हो। यो राज्य आध्यात्मिकता, सुन्दरता र संस्कृतिको सङ्गम हो। यहाँ साहसिक पर्यटन, ट्र्याकिङ र अन्य धेरै सम्भावना छन्। सिक्किम विकासको शिखरमा पुग्नेछ र विश्वका लागि हरित मोडल राज्य बन्नेछ। सिक्किमका जनताले पर्यटनको शक्ति बुझ्छन्। पर्यटन केवल मनोरञ्जन होइन विविधताको प्रतीक पनि हो। सिक्किमलाई कन्फेरेन्स टुरिजम र कन्सेप्ट टुरिजमतर्फ बढ्न आवश्यक छ।
केवल भारतलाई मात्र होइन सिक्किमको धरोहरमाथि समग्र विश्वलाई गर्व छ। पहलगाममा भएको आतङ्कवादी आक्रमण उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, आतङ्वादीहरूले भारतमा होइन मानवतामाथि हमला गरे। देशको भ्रातृत्वमाथि प्रहार गरेर भारतीयहरूलाई विभाजित गर्ने प्रयाससमेत गरे। आतङ्कवादीहरूले थुप्रै परिवारको खुशी खोसे र भारतीयहरूबीच फुट ल्याउने प्रयास गरे। तर भारतले दृढ़ता देखायो र एकताबद्ध रह्यो। आज विश्वले भारत पहिलेभन्दा अझ बढ़ी एकताबद्ध भएको देखिरहेको छ। हामीले एक भएर स्पष्ट सन्देश दिएका छौँ। आतङ्कवादीहरूले हाम्रा छोरीहरूको सिन्दुर पुछिदिए। हामीले तिनीहरूलाई उचित जवाफ दिएका छौँ। पाकिस्तानमा रहेका आतङ्की अड्डाहरू ध्वस्त पारिएका छन्। तर त्यस आक्रमणले हड़बड़ाएको पाकिस्तानी सेनाले हाम्रा नागरिक र सैनिक क्याम्पहरूमाथि आक्रमण गर्ने प्रयास गऱ्यो। तर उल्टै पाकिस्तान उदाङ्गो भयो। हामीले पाकिस्तानका कैयन् एयरबेसहरूसमेत ध्वस्त पारिदिएका छौँ। भारतले के गर्न सक्छ, कति त्वरित कारवागी गर्न सक्छ अनि कति सटीक प्रहार गर्न सक्छ भनेर हामीले देखाइदिएका छौँ। तिनले अझ भने, सत प्रतिशत जैविक खाद्यान्न उत्पादन गर्ने पहिलो राज्य सिक्किम अबको कृषि कार्यमा मार्गदर्शक बनिरहेको छ।
मार्च महीनामा सिक्किमको डल्ले खोरसानी विदेशमा आयात गरियो। यहाँको सोरेङमा जैविक माछा पालन केन्द्र निर्माण गरिनेछ। जैविक उत्पादको विश्वभरि माग बढ़िरहेको छ। तिनले अझ भने, भारत विश्व शक्ति बन्नेछ र सिक्किमले देशको विकासमा योगदान दिनेछ। उत्तरपूर्वी राज्यहरूमा केन्द्रको ठूलो ध्यान केन्द्रित छ। केही समयअघि दिल्लीमा नर्थ-इष्ट इन्भेष्टमेण्ट समिट भएको थियो। सिक्किमको विकासका लागि विभिन्न परियोजनाहरू अघि बढ़िरहेका छन्। अटल सेतुले दार्जीलिङसित सम्पर्क सहज बनाएको छ अनि अहिले कालेबुङसित सम्पर्क विस्तारका लागि पनि कार्य भइरहेको छ। बाघडुग्रा–गान्तोक एक्सप्रेसवेले यातायात सुविधा बढाएको छ। प्रधानमन्त्रीले 500 शैय्याको अस्पताल, एक विशाल स्पोर्ट कम्प्लेक्स र रोप वेसहितका प्रमुख विकास योजनाहरू उद्घाटन गरे। प्रधानमन्त्री मोदीले भने , गान्तोकमा बन्ने स्पोर्ट कम्प्लेक्स नयाँ खेल प्रतिभा उजागर गर्ने केन्द्र बन्नेछ र भारतलाई ओलम्पिकसम्म पुर्याटउन सहयोग गर्नेछ। यही भूमिले हामीलाई भाइचुङ भूटिया दिएको हो। सिक्किमका कुनाकाप्चा हरेक स्थानले हामीलाई अझ धेरै खेल प्रतिभा दिनेछ। गान्तोकस्थित पाल्जोर स्टेडियममा धेरै सङ्ख्यामा स्थानीय वासिन्दाहरू भेला भएर स्वागत गर्न आएका थिए।



