पहलगाममा आतङ्कवादीहरूले सेनाको पोशाकमा हमला गरेका घटनापछि देशभरि सेनाको पोशाक सम्बन्धी सुरक्षा सतर्कता अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ। सामान्यतः सेनाको पोशाक मात्र भारतीय सेनाद्वारा नै उपलब्ध गराइन्छ। तर हाल आतङ्कवादीहरूले सेनाको पोशाकलाई हतियारसरह प्रयोग गरेर हमला गर्न थालेपछि भारत सरकार सतर्क बनेको छ। प्राप्त जानकारीअनुसार सालुगढ़ा बजारमा एकजना दर्जीलाई पक्राउ गरिएको छ र तिनीबाट 15 मिटर सेनाको पोशाकको कपड़ा फेला पारिएको छ। सालुगढ़ा बजारमा अवैध रूपमा सेनाको पोशाक तयार भइरहेको मिलिटेरी इण्टेलिजेन्सलाई गोप्य सूचना प्राप्त भएको थियो। सूचना प्राप्त भएपछि सेनाले जाँच आरम्भ गऱ्यो।
यस सम्बन्धमा भक्तिनगर थानामा प्राथमिकी दर्ता गरिएको थियो। प्राथमिकीको आधारमा भक्तिनगर पुलिस र मिलिटेरी इण्टेलिजेन्सको टोलीले सालुगढ़ा बजारस्थित उक्त दर्जीको पसलमा छापा माऱ्यो। छानबिनका क्रममा उक्त दर्जीको पसलबाट इण्डियन आर्मी लेखिएको 15 मिटर सेनाको पोशाकको कपड़ा फेला पऱ्यो।
पक्राउ परेका व्यक्तिको नाम 54 वर्षीय जाकिर हुसैन बताइएको छ। कठोरतासित तिनली प्रश्न गर्दा उक्त कपड़ा सिक्किमका कुनै व्यक्तिले दिएका बताए। यसअघि पनि मार्च महीनामा बाघडुग्रा क्षेत्रमा सञ्चालन गरिएको अभियानमा एकजना दर्जीलाई पक्राउ गरिएको थियो र अहिले फेरि उस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको हो। जाकिर हुसैनलाई जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरिएको छ। यता सेनाको इण्टेलिजेन्स र पुलिसले संयुक्त रूपमा जाँच गरिरहेको छ किनकि यस घटनाले फेरि एकपटक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।



