एसएससी लिखित परीक्षामा पूर्णाङ्क वा उच्च अङ्क ल्याए पनि अन्तर्वार्ताका लागि डाक नपाएको गुनासो गर्दै 2025 का नोकरीप्रार्थीहरू आन्दोलित बनेका छन्। बुधवार सिलगढ़ीको जलपाई मोड़देखि तीन बत्ती मोड़सम्म सयभन्दा अधिक फ्रेसर नोकरीप्रार्थीहरू जम्मा भएका थिए। नोकरीप्रार्थीहरूको दाबीअनुसार लिखित परीक्षामा धेरैले उच्च अङ्क प्राप्त गरे पनि अन्तर्वार्ताको सूचीमा नाम समावेश छैन। त्यसले नियुक्ति प्रक्रियाको पारदर्शितामाथि गम्भीर प्रश्न खड़ा भएको तिनीहरूको आरोप छ।
आन्दोलनकारी नोकरीप्रार्थीहरूले आज 5 बुँदे माग राख्दै लिखित परीक्षामा उच्च अङ्क प्राप्त सबै परीक्षार्थीहरूलाई तुरुन्त अन्तर्वार्ताका लागि बोलाउनुपर्ने, नियुक्ति प्रक्रियामा पारदर्शिता कायम गर्दै समयसीमा स्पष्ट गर्नुपर्ने लगायतका मागहरू अघि राखेका छन्।
आज जलपाई मोड़देखि तीन बत्ती मोड़ हुँदै उत्तरकन्या जाने क्रममा कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यमा कठोर पुलिस सुरक्षा व्यवस्था गरिएको थियो। आन्दोलनकारीहरूलाई आधा बाटोमै रोकिएको पनि बताइएको छ। नोकरीप्रार्थीहरूको प्रश्न गरे, उच्च अङ्क ल्याउँदा पनि यदि हामीलाई अन्तर्वार्ताको कल नै आउँदैन भने यति वर्षको तयारी किन?



