राज्यभरि एसआईआर प्रक्रिया आरम्भ भइसकेको छ। मङ्गलवार बिहानैदेखि सिलगढ़ीका विभिन्न वार्डहरूमा बीएलओहरूले घर-घर गएर इनुमरेशन फालम वितरण आरम्भ गरेका छन्। प्रत्येक घरमा पुगेर परिवारका सदस्यहरूको नाम, उमेर, ठेगाना र परिचय-पत्र सम्बन्धी जानकारी सङ्कलन गरिने कार्य भइरहेको छ। यसबीच एसआईआर प्रक्रियाबारे शहरमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई सरकारले नागरिक सुरक्षा र तथ्याङ्कमा आधारित योजनाअन्तर्गत ल्याएको कदम बताइरहेका छन् भने धेरैले यस प्रक्रियाप्रति चिन्ता र आशङ्का पनि व्यक्त गरेका छन्।
चुनाउ आयोगको निर्देशनअनुसार आजदेखि सिलगढ़ीसितै पूरै राज्यभरि एसआईआर प्रक्रिया आरम्भ भएको छ। आजदेखि बीएलओ एसआईआरको फारम लिएर घर घरमा जान थालेका छन्। तिनीहरूले फारम भर्न सहयोग गर्नेछन्। आवश्यक परे तिनीहरूले सम्बन्धित कागजात पनि माग्न सक्छन्। त्यसैले चुनाउ आयोगले मान्यता दिएको केन्द्रीय वा राज्य सरकार वा पीएसयूको स्थायी कर्मचारी वा पेन्सनको कागजात, 1 जुलाई 1987 अघि सरकार, ब्याङ्क, हुलाक, एलआईसी वा स्थानीय निकायले जारी गरेको कुनै पनि परिचयपत्र, जन्म प्रमाणपत्र, पासपोर्ट, मान्यता प्राप्त बोर्ड वा विश्वविद्यालयले जारी गरेको म्याट्रिक स्तरको शैक्षिक प्रमाणपत्र, स्थानीय वासस्थान प्रमाणपत्र, वन अधिकार प्रमाणपत्र, जात प्रमाणपत्र, नेशनल सिटिजन रेजिष्टर, राज्य वा स्थानीय निकायद्वारा तयार गरिएको परिवार रजिस्टर अनि सरकारद्वारा जारी गरिएको कुनै पनि जग्गा वा घर आवण्टन प्रमाणपत्र कागजातलाई स्वीकार गरिनेछ।
आजदेखि आरम्भ भएको यो प्रक्रिया आगामी 4 दिसम्बर 2025 सम्म चल्नेछ। 9 दिसम्बर मतदाता सूचीको ड्राफ्ट प्रकाशित हुनेछ। त्यसपछि 9 दिसम्बरदेखि 8 जनवरी 2026 सम्म दाबी र आपत्तिहरूका लागि समय दिइनेछ। यदि नाम मतदाता सूचीमा नभए त्यो अवधि दाबी गर्न सकिनेछ। 9 दिसम्बरदेखि 31 जनवरी 2026 सम्म ती दाबीहरूमाथि सुनुवाइ हुनेछ र आवश्यक सुधार गरिनेछ। अन्ततः अन्तिम मतदाता सूची 7 फरवरी2026 मा प्रकाशित गरिनेछ।



