मिरिकका चित्रकार सिद्धार्थ राईको चित्रकला कोलकाताको चित्रकला प्रदर्शनीमा राखिएको छ। सिलगढ़ीको बीग आर्ट फाउण्डेशनको आयोजनामा 23 जूनदेखि 25 जूनसम्म कोलकाताको ग्यालेरी टी-93 मा उत्तर बङ्गाल भ्युजुअल आर्ट फेस्टिभल चित्रकला प्रदर्शनी भइरहेको छ। त्यस चित्रकला फेस्टिभलमा सिद्धार्थ राईका चित्रकलाहरू प्रदर्शनमा राखिएका जानकारी प्राप्त भएको छ।
प्राप्त जानकारीअनुसार कोलकाताको यस चित्रकला प्रदर्शनीमा विभिन्न ठाउँका तीसजना चित्रकारहरूका चित्रहरू प्रदर्शनी भइरहेका छन्। प्रदर्शनीमा सिलगढ़ी, डोलडोटा, हरियाणा, बिहार, कोचबिहार, मिरिक, बुलगारीमरका चित्रकारहरूको सहभागिता रहेको छ। तीन दिनको यस चित्रकला प्रदर्शनीमा मिरिकका चित्रकार सिद्धार्थ राईका दुईवटा अमृत चित्र प्रदर्शनमा राखिएका छन्।
यस प्रदर्शनीमा कोलकाताका प्रसिद्ध चित्रकारहरू, ग्यालेरीका अधिकारी तथा कला सङ्ग्रहिका राधिका दत्त, सूचना विभागका संयुक्त निर्देशक जगदीश राय, बीग आर्ट फाउण्डेशनका संयोजक दिपायन घोषको मुख्य उपस्थिति रहेको थियो। यस प्रदर्शनीमा आफ्नो चित्रकला प्रस्तुत गर्न पाउँदा हर्ष प्रकट गर्दै चित्रकार सिद्धार्थ राईले आयोजकहरूप्रति आभार प्रकट गरेका छन।



