सबै कुरा ठीकठाक रहे नयाँ वर्षको आरम्भमै उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल क्याम्पसमा नयाँ छुट्टै क्यान्सर अस्पताल सञ्चालनमा आउने तयारी चलिरहेको छ। मेडिकल क्याम्पसमा 6 हजार वर्गमिटर क्षेत्रफलमा चार तल्ले भवन निर्माणको कार्य अहिले अन्तिम चरणमा पुगेको छ। 100 शय्याको आधुनिक यो अस्पताल सञ्चालनमा आएपछि क्यान्सर उपचारको नयाँ मार्ग खुलिनेछ। सन् 2023 मा यो छुट्टै अस्पताल निर्माण कार्य आरम्भ गरिएको हो। टाटा क्यान्सर केयर र राज्य सरकारको संयुक्त पहलमा यो अस्पताल निर्माण भइरहेको छ। यसका लागि लगभग 100 करोड़ रुपियाँको बजेट निर्धारण गरिएको छ।
सम्भवत: जनवरीदेखि वाह्य विभाग (ओपीडी) सेवा आरम्भ हुनेछ। क्रमशः रोगी भर्ना तथा शल्यक्रिया (अस्त्रोपचार) सुविधासमेत आरम्भ गरिनेछ। आगामी चरणमा रेडियोथेरापी, किमोथेरापी र अन्कोलोजी सर्जरीका लागि छुट्टै युनिट निर्माण गर्ने योजनासमेत छ। उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालका रोगी कल्याण समितिका अध्यक्ष गौतम देवले भने, पहिले नै धेरै कार्य सम्पन्न भइसकेको छ। टाटा प्रविधिक सहयोगसितै भवनको केही भाग तिनीहरू नै निर्माण गरिदिइरहेछन्।
मेडिकल कलेज सूत्रअनुसार बर्सेनि लगभग दुईदेखि अढ़ाई हजार क्यान्सर रोगी उपचारका लागि यहाँ आउने गर्छन्। तथ्याङ्कअनुसार भारतमा प्रत्येक वर्ष लगभग 15 लाख मानिसहरू क्यान्सरबाट ग्रस्त हुन्छन्। क्यान्सरबाट ग्रस्त हुने राष्ट्रिय औसत उमेर 55 वर्ष रहेको छ। तर उत्तर–पूर्व भारतमा 45-46 वर्ष उमेरका महिलाहरू समेत यस रोगबाट प्रभावित भइरहेका छन्। यस विषयमा निरन्तर अनुसन्धान भइरहेको छ। फूलबारी–1 ग्राम पञ्चायतको भालाबासा मोड़का वासिन्दा भानु देवनाथले भने, बाबा क्यान्सरले पीडित भएर अहिले मेडिकल कलेजमै भर्ना छन्। अन्य राज्यमा उपचार गराउँदा पनि कुनै लाभ भएन। जलपाइगढ़ीको मोहितनगरका एक युवकले भने, श्रीमतीलाई क्यान्सर भएको पत्तो लागेको छ। यहाँ अझै भर्ना राखेर उपचार गर्ने सुविधा छैन। त्यसैले आउँदै–जाँदै उपचार गराउनु परिरहेको छ। मेडिकलको एकजना अधिकारीअनुसार, यहाँ क्यान्सरको उपचार सेवा जारी छ। तर रोगीलाई भर्ना राख्ने व्यवस्था छैन। विशेष परिस्थितिमा रोगीलाई सामान्य वार्डमा राख्नुपर्छ। छुट्टै क्यान्सर अस्पताल बनेपछि धेरै मानिसहरू लाभान्वित हुनेछन्।



