जातीय जनगणनाबारे किराँत खम्बू राई सांस्कृतिक संस्थान मिरिकले प्रेस भेलामार्फत जन साधारणलाई उचित परामर्श लिएर मात्र फारम भर्ने अनुरोध गरेको छ। मिडियालाई सम्बोधन गर्दै संस्थानका मिरिक महकुमा प्रवक्ता राजीब राईले जनगणना सम्बन्धी नोटिफिकेशन अन्योलतापूर्ण रहेको बताउँदै सम्पूर्ण किराँतहरू जनजाति रहेका दाबी गरे। त्यसर्थ फारम भर्ने प्रक्रियामा सम्पूर्ण किराँत सचेत रहनुपर्ने तिनको भनाइ छ।
तिनले फारम भर्दा संस्थानका प्रतिनिधिहरूसित परामर्श गरे अति असल हुने बताउँउदै किराँतीहरू खाँटी जनजाति रहेका दर्शाउने जातीय जनगणना एउटा अवसर रहेको पनि बताए। अर्कातिर राईले किराँत खम्बू राई सांस्कृतिक संस्थान मिरिकले आगामी 24 अनि 25 मईको दिन साकेला पर्व उत्सव भव्य रूपमा मनाउने निधो गरेको अनि तयारी लगभग पूरा भइसकेको बताए।
मिरिकको आले खेल मैदानमा सम्पन्न हुने उक्त पर्वमा सिक्किमका मुख्यमन्त्री पीएस गोले तामाङसहित जीटीए प्रमुख अनित थापा, मिरिक नगरपालिका अध्यक्ष एलबी राई आदि उपस्थित हुने जानकारी तिनले दिएका छन्। प्रवक्ता राजीव राईले उत्सव पालन गर्ने मुख्य उद्देश्य राई जातिमा एकता अनि अखण्डता कायम गर्नु रहेको बताए।



