सेभोक रोडस्थित डन बोस्को मोड़ ट्राफिक पोइण्टनजिक सोमवार राति लगभग 11 बजी भएको एक दुःखद सड़क दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ। उक्त क्षेत्र भक्तिनगर पुलिस चौकी अधीनस्थ पर्छ। ज्यान गुमाउने व्यक्ति पन्बुका राजु लेप्चा हुन्। तिनी विगत दुई वर्षदेखि सिलगढ़ीको झन्कार मोड़ क्षेत्रमा भाड़ाको घरमा बस्दै आइरहेका थिए। राजु सेभोक मोड़ क्षेत्रको एक रेस्टुरेण्टमा सेफको रूपमा कार्यरत थिए।
प्राप्त सूचनाअनुसार राजु आफ्ना दाजु भाइसित चेकपोष्टबाट झन्कार मोड़तर्फ छुट्टाछुट्टै मोटरसाइकलमा फर्किरहेका थिए। त्यसै क्रममा डन बोस्को मोड़नजिक एउटा ट्रकको चक्कामा परेर तिनको घटनास्थलमै मृत्यु भयो। घटनापछि उक्त क्षेत्रमा तनाउको स्थिति देखियो।
दुर्घटनाको खबर पाएलगत्तै भक्तिनगर पुलिस चौकी र ट्राफिक पुलिसका जवानहरू घटनास्थलमा पुगेर मृत शरीरलाई कब्जामा लिएर पोष्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाए। दुर्घटनामा संलग्न ट्रकका चालक र सहचालकलाई पुलिसले पक्राउ गरेको छ। घटनाबारे थप जाँच चलिरहेको पुलिसले जनाएको छ।



