दले नेतृले भनिन् भने विष खानु, गोली खानु पनि आपत्ति छैन। त्यति मात्र होइन हाउड़ा पुलबाट हाम फाल्न पनि राजी छु। तर मुख्यमन्त्रीबाहेक अरू कसैको निर्देशमा नगरपालिका अध्यक्ष पदबाट हट्ने मेरो मनसाय छैन। जिल्ला अध्यक्ष अभिजीत दे भौमिकबाट दिइएको राजीनामाको निर्देशनपछि कोचबिहार नगरपालिकाका अध्यक्ष रवीन्द्रनाथ घोषले यस्तो मन्तव्य दिए। तिनले भने, जिल्ला अध्यक्षले दिएको राजीनामाको निर्देश अधिकार तिनको क्षेत्रबाहिरको विषय हो। यसरी कसैलाई प्रशासनिक पदबाट हटाउन सकिँदैन। बिहीवार तिनको यस्तो मन्तव्यले अन्य नगरपालिका अध्यक्ष तथा उपाध्यक्षहरूलाई पनि विद्रोही बनाएको छ। धेरैजना राजीनामा दिन अस्वीकार गर्ने अड़ानमा बसेका छन्।
बिहीवार कोचबिहार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा रवीन्द्रनाथ घोषले भने, बुधवार जिल्लाका पार्टी अध्यक्षले मेसेज पठाए। त्यहाँ सात दिनभित्र राजीनामा दिनुपर्ने भनिएको छ। 22 वर्ष कोचबिहार तृणमूलको जिल्ला अध्यक्ष थिएँ। त्यसैले पार्टीको संविधान, नियम केही न केही थाहा छ। अध्यक्ष, उपाध्यक्षजस्ता पदहरू प्रशासनिक पद हुन्। मुख्यमन्त्रीले नै मलाई यस पदमा नियुक्त गरेकी हुन्। राज्य नेतृत्व वा मुख्यमन्त्रीबाट राजीनामाको सन्देश आएको छैन। त्यहाँबाट सन्देश आए एक मिनट पनि नसोची राजीनामा दिनेछु। तर जिल्ला अध्यक्षले यस्तो निर्देश दिनै सक्दैनन्। तिनले अझ भने, यसरी पार्टीलाई नोक्सान पुऱ्याइँदैछ।
तृणमूलका वरिष्ठ नेता घोषको पत्रकार सम्मेलनपछि हलचल आरम्भ भयो। बुधवार राति नै कोचबिहारसितै हल्दीबारी र माथाभाङ्गाका नगरपालिका अध्यक्ष तथा उपाध्यक्षलाई पनि राजीनामा गर्न भनिएको थियो। त्यसैबीच बिहीवार पार्टीको निर्देशन नमान्ने निर्णय लिए अध्यक्ष शङ्करकुमार दास र उपाध्यक्ष अमिताभ विश्वासले पनि। नगरपालिका अधिकांश पार्षद तिनीहरूसितै छन्। सूत्रको जानकारीअनुसार, कोचबिहारका नगर प्रमुख र हल्दीबारीका नगर प्रमुखबीच यसबारे कुराकानी भएको छ। त्यसरी माथाभाङ्गा नगरपालिकाका अध्यक्ष लक्ष्यपति प्रमाणिकले राजीनामा माग्ने निर्देशनको आलोचना गरेका छन्। प्रमाणिकले भने, पार्टीको निर्देशनअनुसार दुई–एक दिनभित्र राजीनामा दिनेछु। तर जिल्ला अध्यक्षले किन राजीनामा मागे त्यसको कुनै कारण वा तर्क प्रस्तुत गरिएको छैन। कुनै समय माथाभाङ्गामा पार्टीको विरोधमा रहेका व्यक्तिहरू नै अहिले पुरस्कृत भइरहेका छन्।



