टिस्टा नदीको कटाउले स्कूल भवन नदीमै बग्यो। अझै नयाँ भवन बनिएको छैन। बाध्य भएर पठन-पाठन रूखमुनि चलिरहेको छ। लगभग एक वर्षदेखि यस्तै दुःख पाइरहेका छन् जलपाइगढ़ी सदर ब्लकको कानाइनगरपाड़ा न्यू प्राथमिक विद्यालयका विद्यार्थीहरूले। खुल्ला आकाशमुनि पठन-पाठन चल्दा वर्षामा प्रायः दिन स्कूल बन्द राख्नुपर्छ। त्यति मात्र होइन गर्मीमा पनि पठन-पाठन प्रभावित हुन्छ।
स्कूल भवन नदीले बगाएपछि प्रशासनका थुप्रै अधिकारी आएर अवस्था हेरेर गए, बीडीओले नयाँ भवन बनाइदिने वाचा गरे तर अहिलेसम्म भवन नबनाइएको अभिभावकहरूको गुनासो छ। टिस्टा नदीको बीचमा ठूलो क्षेत्र छ जहाँ 2300 जनाको बसोवास छ। स्थानीय वासिन्दाहरूले सरकारी सुविधा पनि पाइरहेका छन्। गत पञ्चायत चुनाउसम्म मतदान केन्द्र त्यसै कानाइनगरपाड़ा न्यू प्राथमिक विद्यालयमै थियो। तर गत वर्ष जून महीनामा टिस्टा नदीले स्कूल भवन बगायो। विद्यालयका प्रधानाध्यापक गौतम सरकारअनुसार कालामपुर, बाहिर चर, माखलिया पाड़ा, कानाइनगरपाड़ा, धरपरार चर लगायतका क्षेत्रका बालक-बालिका यस विद्यालयमै पढ्छन्। तर पनि नयाँ भवन बनाउन कुनै पहल गरिएको छैन। कोठा नहुँदा स्वनिर्भर समूहकी महिलाले एक किलोमिटर टाढ़ाबाट पकाएको मध्याह्न भोजन ल्याउनुपर्छ। अभिभावक चिनु विश्वासले भने, स्कूल भवन छैन, पिउने पानी छैन, शौचालय छैन। तर पनि भविष्यबारे सोचेर छोराछोरीलाई स्कूल पठाइरहेका छौँ। बीडीओ साहेबले वाचा गरेर गए पनि अहिलेसम्म कुनै पहल भएको छैन। त्यस्तै भनाइ सावित्री रायको पनि छ। सावित्रीले भनिन्, छोराछोरीहरूको भलाइका लागि छिट्टै कुनै व्यवस्था गरिनुपर्छ।
यस विषयमा जिल्ला प्राथमिक विद्यालय निरीक्षक श्यामल चन्द्र रायले भने, त्यो विद्यालयको अवस्थाबारे जानकारी छैन। समस्या भनेको जग्गा हो। कसैले जग्गा दिए स्कूल भवन तुरुन्त बनाइनेछ। स्थानीय पञ्चायत सदस्य जितेन्द्र विश्वासले भने, अहिले स्कूल बसेको ठाउँमा एक बिगाभन्दा अधिक जग्गा छ। जग्गाका मालिक स्कूलका लागि जग्गा दिन पनि तयार भएका छन्। त्यसै जग्गाको पट्टाको कागज प्रधानाध्यापक र एसआईलाई दिइएको छ। तर त्यसपछि पनि कुनै व्यवस्था भएको छैन।



