मङ्गलवार सखारै बिहान नक्सलबारीको दुई नम्बर एशियन हाइवेको क्वार्टर मोड़ क्षेत्रमा सड़क दुर्घटना भएको छ। सड़क दुर्घटनामा एकजनाको मृत्यु भएको छ साथै एक बालकसहित सातजना मानिसहरू घाइते भएका छन्।
स्थानीय सूत्रअनुसार मृत व्यक्तिको नाम रसीद मियाँ (४48 हो। तिनी कोचबिहारको घोकसाडाङ्गाका वासिन्दा थिए। बाँकी घाइतेहरू पनि कोचबिहारकै वासिन्दा रहेका बताइएको छ। तिनीहरू सिलगढ़ी हुँदै नेपालको एउटा इँटाभट्टीमा मजदुरीको कामका लागि जाँदै थिए। मङ्गलवार भारत–नेपाल सीमास्थित पानी ट्याङ्कीनजिक क्वार्टर मोड़मा सड़क छेउमा दुर्घटनाग्रस्त वाहनलाई स्थानीय मानिसहरूले देखे। वाहनले कुनै लरीको पछिल्तर ठक्कर दिँदा नियन्त्रण गुमाएर वाहन सडक छेउको खाल्डोमा खसेको अनुमान गरिँदैछ।
खबर पाएपछि नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेको थियो। त्यसपछि घाइतेहरूलाई उद्धार गरी नक्सलबारी ग्रामीण अस्पताल पठाइयो। पछि सबैलाई उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा रेफर गरिएको छ। प्राप्त जानकारीअनुसार घाइतेहरूमध्ये दुईजना महिला र लगभग चार वर्षको एकजना बालक पनि सामेल छन्।



