2026 मा पश्चिम बङ्गालमा विधानसभा चुनाउ छ। चौथोपल्ट पुन सत्तामा फर्कन मुख्यमन्त्री ममता ब्यानर्जीले कुनै कसर बाँकी राखेकी छैनन्। तर चुनाउअघि राज्यमा विशेष गहन संशोधन वा एसआईआर सम्पन्न हुनेछ। त्यसअघि राज्य प्रशासनका 64 जना अधिकारीहरूलाई नवान्नले स्थानान्तरण गरेको छ। एकैसाथ यति धेरै अधिकारीहरूको स्थानान्तरण वर्तमान समयमा दुर्लभ घटना हो। तर एसआईआर घोषणा हुनअघि यस स्थानान्तरणको कारणमा प्रशासनिक हलचल आरम्भ भएको छ। प्रशासनका एक हिस्साले एसआईआर घोषणापछि स्थानान्तरण गर्न खोजे चुनाउ आयोगसित द्वन्द्वको स्थिति उत्पन्न हुन सक्ने ठान्दछ। त्यस्तो स्थितिमा चुनाउ आयोगको मतको पनि भूमिका हुनेछ। त्यसैले आफ्नो योजनाअनुसार नवान्नले अधिकारीहरूको स्थानान्तरण पहिले नै सम्पन्न गरेको हो। यद्यपि नवान्न सूत्रबाट थाहा पाइएअनुसार यस स्थानान्तरणको आदेश रुटिन हो। उत्सव सकिएपछि यसलाई कार्यान्वयन गरिने पहिले नै तय गरिएको थियो।
राज्यका विभिन्न जिल्लाहरूको साथै उत्तर बङ्गालका तीन जिल्लाका जिल्ला अधिकारीहरूको स्थानान्तरण गरिएको छ। दार्जीलिङका जिल्ला अधिकारी प्रीति गोयललाई मालदाको जिल्ला अधिकारी पदमा पठाइएको छ। मालदाको जिल्ला अधिकारी नितिन सिंहानियालाई मुर्शिदाबादको जिल्ला अधिकारी बनाइँदैछ। प्रीति गोयलको स्थानमा दार्जीलिङका जिल्ला अधिकारी मनीष मिश्र नियुक्त भएका छन्। कोचबिहारका जिल्ला अधिकारी अरविन्द कुमार मिनालाई दक्षिण 24 परगना जिल्लाको जिल्ला अधिकारी बनाइएको छ। तिनका स्थानमा कोचबिहारका जिल्ला अधिकारी बनेका छन् उद्योग र व्यापार विभागका विशेष सचिव राजु मिश्र।
यसबाहेक 10 जना आईएएस अधिकारीहरूलाई अफिसर अन स्पेशियल ड्युटी (ओएसडी) बाट महकुमा शासकको पदमा स्थानान्तरण गरिएको छ। त्यस्तै 15 जना आईएसएस अधिकारीहरूलाई अतिरिक्त जिल्ला अधिकारी, महकुमा शासक र संयुक्त सचिवको पदमा स्थानान्तरण गरिएको छ। अझै 22 जना आईएसए अधिकारीहरूलाई अतिरिक्त जिल्ला अधिकारीको पदमा स्थानान्तरण गरिएको छ। यीमध्ये केही उच्च अधिकारीहरू विभिन्न विभागमा पनि स्थानान्तरण भएका छन्।



