शुक्रवार मिरिक मुख्य सड़कदेखि डनबस्को गोलाई, थुलुङ गाउँ, मरमा हुँदै सिरिसेसम्म पुग्ने सड़क मरम्मती कार्यको शिलान्यास गरिएको छ। प्रधानमन्त्री ग्राम सड़क योजनाअन्तर्गत उक्त सड़क मरम्मती कार्य हुनेछ। यसको दूरी 7.5 किलोमिटर छ भने सड़क मरम्मती कार्य 2.78 करोड़ रुपियाँको लागतमा सम्पन्न हुनेछ। मिरिक नगरपालिका अध्यक्ष एलबी राई अनि मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले सड़क मरम्मती कार्यको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा मिरिक पञ्चायत समितिका सदस्य समीर राई, पहिला गाउँ स्कूल डाँड़ा ग्राम पञ्चायत दुईका प्रधान जयन्ती सुब्बा, उप प्रधान किस्मत सुब्बा, ग्राम पञ्चायत एकका प्रधान सुवेच्छा तामाङ, डुप्टिन ग्राम पञ्चायत प्रधान शर्मिला राई, युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेश तोलाङ्गी, मिरिक थर्बु डुप्टिन समष्टि युवा शक्ति अध्यक्ष प्रशन राई, नारी शक्ति मिरिक महकुमा अध्यक्ष गणिता गुरुङ, विभागीय अधिकारीहरू लगायत स्थानीय मानिसहरू उपस्थित थिए।
यस अवसरमा बोल्दै सभासद मिलेस राईले भने, मरमा-थुलुङ गाँउवासीले लामो समयदेखि यातायातमा भोग्दै गरेका समस्या समधान हुने भएको छ। जीटीए प्रमुख अनित थापाको सक्रिय पहलमा नै सड़क मरम्मती कार्य हुने भएको हो। तिनले सड़क मरम्मती कार्यका लागि पहल गरिदिए बापद जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरे। राईले थुलुङ गाउँ अनि मरमालाई जोड्ने उक्त सड़कको मरम्मती गुणस्तरीय गरिदिने ठेकेदारहरूलाई अनुरोध पनि गरे। तिनले भने, हामी कर्ममा विश्वास गर्ने मानिसहरू हौँ अनि कर्म गरेर नै साधारण जनताको अभाव र समस्यालाई हामी समाधान गरिरहेका छौँ। यो सड़क मरम्मती नभएको कारण यातायातमा धेरै समस्या भइरहेको थियो। कार्यक्रममा बोल्दै मिरिक नगरपालिका अध्यक्ष एलबी राईले भने, सड़क मरम्मती कार्यले स्थानीय मानिसहरूलाई यातायातमा धेरै सुविधा हुनेछ। तिनले पनि गुणस्तरीय मरम्मती कार्य गर्नुपर्ने विषयमाथि जोड़ दिए।



