खड़ाया ग्राम पञ्चायतअन्तर्गत शोभाबाड़ी इँटाभट्टा क्षेत्रमा प्रत्येक वर्ष जाड़ो आरम्भ हुनअघि धेरै सङ्ख्यामा परदेशी चराहरू आउँछन्। जाड़ो सकिएपछि तिनीहरू आफ्ना मूल स्थानतर्फ फर्किन्छन्। तर त्यो परित्यक्त इँटाभट्टा नै किन यी मौसमी पाहुनाहरूका लागि सुरक्षित आश्रय स्थल बनेको हो? भन्ने प्रश्न उठ्छ।प्राप्त जानकारीअनुसार द्वारका प्रसाद नामक व्यक्ति उक्त इँटाभट्टाका मालिक थिए। तिनको समयमा झण्डै दुई दशकभन्दा बढ़ी समयसम्म यो इँटाभट्टा सञ्चालनमा रह्यो। तर 1988 मा इँटाभट्टा बन्द भयो। त्यसपछि वर्षाको पानी जमेर हुँदै उक्त इँटाभट्टाको जमीन क्रमशः एउटा तालको रूप लिँदै गयो।
क्षेत्रका वरिष्ठ वासिन्दा राजीव दासले भने, आज 30-40 वर्ष भयो यो इँटाभट्टा बन्द भएको। अहिले मालिक को हुन्, कहाँ बस्छन् थाहा पाइएन। यति वर्षदेखि परित्यक्त रहँदा वर्षाको पानी जमेर यो स्थान स्वाभाविक रूपमा जलाशयमा परिणत भएको हो। त्यसैले प्रत्येक वर्ष यहाँ थुप्रै चिनिने–नचिनिने परदेशी चराहरू आउँछन्। हामीलाई पनि राम्रो लाग्छ।
लामो समयदेखि त्यहाँ विभिन्न प्रजातिका स्वदेशी र विदेशी चराहरू देखिँदै आए पनि वन विभागका तर्फबाट चराहरूको सङ्ख्या वा प्रजाति निर्धारणका लागि अहिलेसम्म कुनै सर्वेक्षण गरिएको छैन भन्ने थाहा लाग्छ। अहिलेसम्म भएका अध्ययनहरू केवल बर्ड वाचरहरू वा निजी संस्थाहरूको पहलमा मात्र भएका हुन्।
जलपाइगढ़ी र दार्जीलिङ जिल्लाका ई-बर्ड क्षेत्रीय समीक्षक तथा बर्ड वाचर शान्तनव मजुमदारको भनाइमा, पाण्डापाड़ाको उक्त इँटाभट्टाको ताल क्षेत्रमा मानिसहरूको आवाजाही नहुँदा सयभन्दा बढ़ी प्रजातिका चराहरू प्रत्येक वर्ष यहाँ आउँछन्। छेउमै जलाशय भएकाले खानाका लागि तिनीहरूलाई अन्यत्र जानु पर्दैन। ह्विस्लिङ टिल, स्टेप इगल, इष्टर्न इम्पेरियल इगल, कमन बजार्ड, लङ लेग्ड बजार्डजस्ता शिकारी चराहरू पनि खानाको खोजीमा यहाँ आउने गर्छन्।



