दार्जीलिङ पहाडको खोला,प्राकृतिक सम्पदा अनि पानीको संरक्षण गर्ने उदेश्यमा माकपाको युवा सङ्गठन डीवाईएफआईले मिरिक नन्दलाल गाउँ सार्वजनिक भवनमा स्थानीय पैह्रो पीड़ित अनि साधारण नागरिकहरूलाई सहभागी गराई पर्यावरण बचाओै बेरीगेट नामक सचेतना कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा डीवाईएफआई राज्य कमिटी अध्यक्ष रोनाङ्सु सरकार, जिल्ला अध्यक्ष सागर शर्मा, मिरिकका माकपा नेता किस्मत तामाङको विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा पैह्रो पीड़ितहरूको शीघ्र पुनर्वासको माग गरियो भने शीघ्र पुनर्वास नभएर डीवाईएफआई आन्दोलनमा उत्रिने चेताउनी दिइएको छ। यस अवसरमा डीवाईएफआईद्वारा पैह्रो पीड़ितहरूलाई राहत सामग्री पनि वितरण गरियो। यस अवसरमा बोल्दै डीवाईएफआई जिल्ला अध्यक्ष सागर शर्माले प्राकृतिक सम्पदाहरूको संरक्षण गर्न अति आवश्यक रहेको बताए।
बढ्दो पर्यवरण विनाशले पहाड़मा धेरै प्राकृतिक आपदा भइरहेको अनि यसको कारण धेरै धनजनको क्षति भएको हुँदा यस्ता विषयहरूमाथि सरकारको ध्यान केन्द्रित गर्न अनि पर्यवारण संरक्षण दिशामा यो कार्यक्रम पश्चिम बङ्गालभरि नै डीवाईएफआईले गरेको पनि तिनले बताए।शर्माले भने, पहाड़को पैह्रो पीड़ितहरूले चाँडै न्याय पाउनुपर्छ। राहत सामग्री वितरण क्षणिक हो। सधैँभरि पीड़ितहरू शिविरमा बस्न सक्दैनन्। त्यसैले पैह्रो पीड़ितहरूलाई शीघ्र सरकारले पुनर्वास गर्नुपर्छ भनेर हामी माग गर्दछौँ।



