भौगोलिक दृष्टिकोणले कृषि अनि बागवानीका लागि उपयुक्त मानिने मिरिकका अधिकांश युवाहरू फूल खेतीमा लागेर राम्रै आमदानी गरिरहेका छन्। मिरिकका प्राय सबै फूल उत्पादकहरूको नर्सरीमा अहिले मौसमी फूलहरू पेञ्जी,
एजिला, राइनोक्लोस, सिजन तास, केलसेरिया आदि ढकमक्क फुलेका देखिन्छन्। यहाँका फूल उत्पादकहरू धिरज राई, आनन्द राई अनि विराज राईले भौगोलिक दृष्टिकोणले फूल उत्पादनका लागि मिरिक उपयुक्त स्थान रहेको कारण फूल उत्पादन गरेर बेरोजगारी समस्या समाधान हुने साथै राम्रै आमदानी गर्न सकिने बताएका छन्। तिनीहरूले सिम्बोडियम अर्किडसितै विभिन्न मौसमी फूल उत्पादन गरेर फूल कृषकहरूले राम्रै आमदानी गरिरहेका पनि बताए। हाल युवाहरूले आफ्नै परिश्रममा फूल उत्पादन गरिरहेका जानकारी गराँउदै यहाँका फूल उत्पादकहरूलाई उचित सरकारी सहयोग र सहुलियत प्राप्त भए मिरिकको फूल उद्योग अझ फस्टाएर जाने तिनीहरू थप बताएका छन्।



