माकपाका विभिन्न भातृ सङ्गठनहरूले विनाशकारी पैह्रोको कारण राहत शिविरमा बसिरहेका पैह्रो पीड़ितहरूलाई राहत सामाग्री वितरण गरिरहेका छन्। माकपा अनि भातृ सङ्गठनहरूले मिरिक नगरपालिका क्षेत्र, सौरेनी, नन्दलाल गाउँ, नौ माइल, सियोक लगायत विभिन्न ठाँउमा पुगेर आवश्यक सामग्रीहरू वितरण गरिरहेका माकपा नेताहरू किस्मत तामाङ अनि सचिन खातीले जानकारी गराएका छन्। माकपा नेताहरू अशोक भट्टाचार्य, समन पाठक आदिले पनि पैह्रो प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरिसकेका तिनीहरूले बताए। आपदाको क्षण माकपा साधारण मानिसहरूको साथमा रहेको बताउँदै निरन्तर राहत सामग्री वितरण गरिने पनि तिनीहरूले बताए।
पैह्रोको चपेटमा परेर विस्थापित बनेका मानिसहरूलाई शीघ्र सुरक्षित स्थानमा पुनर्वास गराउनुपर्ने माग गर्दै पैह्रो पीड़ितहरूको पुनर्वासका लागि केन्द्र सरकार, राज्य सरकार अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले शीघ्र पहल गर्नुपर्ने तिनीहरूले माग गरेका छन्। तिनीहरूले भने, पैह्रोले मिरिकमा धेरै क्षति भएको छ। पैह्रो पीड़ितहरू लामो समयसम्म राहत शिविरमा बस्न सक्दैनन्। शिविरमा शिशु, युवा, वृद्ध सबै छन्। त्यसैले असुविधा हुनेछ। अब सरकार पक्षले पुनर्वासमाथि ध्यान केन्द्रित गर्नुपर्छ। तिनीहरूले थपे, मिरिकको अधिकांश चियाबारीहरू पैह्रोले प्रभावित बनेका छन्। त्यसैले सरकार पक्षले प्रथम चियाबारी मालिक अनि प्रबन्धकहरूसित बसेर सुरक्षित ठाउँ चिन्हित गर्नुपर्छ। विगतमा पुनर्वास गरिएका कतिपय पीड़ितहरू पनि यो बर्ष पैह्रोको चपेटमा परेका छन्। सुरक्षित ठाँउको चयन सही तरिकाले नहुदाँ यस्तो भएको हो। यसर्थ यसपालि पैह्रोको जोखिम नहुने ठाँउमा नै पैह्रो पीड़ितहरूलाई पुनर्वास गराउन अति आवश्यक रहेको छ।
तिनीहरूले अझ भने, 8 जुलाई 2003 मा घैयाबारीमा आएको विनाशकारी पैह्रोको सम्झना गर्दै घैयाबारीमा पैह्रो जाँदा राज्यमा वाम मोर्चा सरकार थियो। त्यसताकको सरकारले शीघ्र पुनर्वासको प्रक्रिया चलाएको थियो अनि धेरैजना पैह्रो पीड़ितहरूलाई घरको चाबी थमाइएको थियो। हालको सरकारले पैह्रो पीड़ितहरूको पुनर्वासका लागि कुनै घोषणा गरेको छैन। पीड़ितहरूको पुनर्वासका लागि हामीले सम्बन्धित निकायमा अघिबाट नै पत्राचार गरिसकेका छौँ।



