दार्जीलिङ पहाड़मा अत्यधिक वर्षा र विनाशकारी पैह्रोको कारण ठूलो क्षति भएको छ। पैह्रोले धेरैको ज्यान लिएको छ भने धेरै परिवार विस्थापित बनेका छन्। सौरेनीनजिक राहत शिविरमा दुखद दृश्य देखिएको छ। डाबग्रामको खोलाचन्द फाप्रीबाट आफ्ना हजुर बुबाको घरमा आएकी 8 वर्षीया आयुशी छेत्रीको पैह्रोमा परेर मृत्यु भयो। आयुशीका हजुर बुबा राजेन छेत्री चियाबारी मजदुर हुन्। तिनी अनि तिनका परिवार अहिले राहत शिविरमा छन्।
त्यसै शिविरमा चारजना परिवारका सदस्यहरू गुमाएको अर्को परिवारले पनि आश्रय लिएको छ। एकजना पाहुनाको पनि पैह्रोमा परेर ज्यान गयो। दिल्लीमा मजदुर कार्य गर्ने सुनिल थापाको घर खोला किनारमा जोखिमपूर्ण अवस्थामा छ। तिनका दुई छोरी सौरेनीको राहत शिविरमा छन्। तर धेरै मेहनतले बनाएको घर छोड्न नचाहने तिनकी श्रीमती त्यसै घरमा अड्किएकी छन्। उक्त राहत शिविरमा समन पाठकको नेतृत्वमा सीपीआई(एम) को राहत टोलीले राहत सामग्री वितरण गरेको छ। अनादी साहु, मयुख विश्वास, सचिन खाती, उत्तर शर्मा, सौरव दास, सौरसिश राय, उदयन दासगुप्ता, चेतन गुरुङ, अङ्कित दे, किस्मत तामाङ, रेजिना चामलिङ र राजेश क्षेत्रीले पनि राहत शिविरहरूको भ्रमण गरेर सहयोग गरेका छन्।
मिरिक नगरपालिका विष्णुलाल गाउँ क्षेत्रमा पनि ठूलो क्षति भएको छ। एक 11 वर्षीया बालिका साथीको घर गएकी थिइन्। तर पैह्रोमा परेर फर्किन सकिनन्। नजिकै एक 9 वर्षीय बालकको पनि ज्यान गयो। थुर्बु चियाबारीको नौ माइल क्षेत्रको राहत शिविरमा आश्रय लिएका दुई दाजु-भाइ पूर्ण रूपले टुहुरा भएका छन्। एबीटीएले तिनीहरूको शिक्षाको जिम्मा लिएको छ। थर्बु चियाबारीको तल्लो डिभिजन शिविरमा 6 परिवारले आश्रय लिएका छन्। तिनीहरूको घर पूर्ण रूपले ध्वस्त भएको छ।पीड़ितहरूले शीघ्र पुनर्वास व्यवस्थाको माग गरिरहेका छन्। सीपीआई(एम) टोलीले सबैतिर राहत सामग्री वितरण गरिरहेको छ। यस्तो अवस्थामा तुरुन्तै राष्ट्रिय आपदा घोषणा गर्न, पीड़ितहरूको पुनर्वास गराउन अनि चियाबारी मजदुरहरूलाई जग्गा उपलब्ध गराउने सीपीआई(एम)ले माग गरेको छ।



