यस वर्षको जाड़ो यामका लागि चिया उत्पादन कहिले रोक्नुपर्ने भन्ने मिति टी बोर्डले अझै घोषणा गरेको छैन। त्यसकारण चिया उद्योगमा द्विविधा सिर्जना भएको छ। बदलिँदो जलवायु स्थितिलाई ध्यानमा राख्दै यसपल्ट उत्तर बङ्गालमा 25 दिसम्बर अनि असममा 20 दिसम्बरदेखि उत्पादन रोक्ने निर्देशन जारी गरियोस् भन्ने कन्फेडरेशन अफ इण्डियन स्मल टी ग्रोअर्स एसोसिएसन (सीआईएसटीए) ले चाहेको छ। यस मागसहित सङ्गठनको तर्फबाट टी बोर्डका उपाध्यक्षलाई इमेल पठाइएको छ सीआईएसटीएका अध्यक्ष विजयगोपाल चक्रवर्तीले भने, प्रत्येक वर्ष डेढ़देखि दुई महीनाअघि नै जाड़ो सिजनको उत्पादन बन्द गर्ने मिति टी बोर्डले सार्वजनिक गर्ने गर्दछ।
यसले साना चिया किसान तथा चियाबारीहरूलाई भविष्यका योजनाहरू बनाउन सहज हुन्छ। तर यसपालि अहिलेसम्म पनि त्यस मितिबारे जनाइएको छैन। उत्तर बङ्गाल र असममा क्रमशः 25 र 20 दिसम्बरलाई जाड़ो सिजनको उत्पादन बन्द गर्ने दिनका रूपमा तोकियोस् भन्ने हामी चाहन्छौँ।सम्बन्धित सूत्रअनुसार, पछिल्ला 8 वर्षदेखि टी बोर्डले जाड़ो सिजनको उत्पादन बन्द गर्ने सम्बन्धमा निर्देशन जारी गर्दै आएको छ। गत 6 वर्षका (2018-2023) तथ्याङ्कअनुसार डुवर्स–तराईका चियाबारीहरूको लागि उक्त मिति क्रमशः 15, 19, 19, 18 अनि 23 दिसम्बर थियो। तर गत वर्ष अचानक मितिलाई अघि सारेर 30 नोभेम्बर तोकिएको थियो।
त्यसकारण चियाबारीहरूले ठूलो आर्थिक क्षति ब्योहोर्नु पर्योर र उद्योगमा व्यापक असन्तुष्टि देखा पर्योर।सीआईएसटीएअनुसार, जलवायु परिवर्तनका कारण अहिले दिसम्बर महीनाभरि उच्च गुणस्तरको हरियो पात उपलब्ध हुन्छ। त्यसैले उत्पादन अघि नै बन्द गरिए ती पातहरू बेच्ने वा त्यसबाट फ्याक्ट्रीमा उत्पादन गर्ने कुनै विकल्प बाँकी रहँदैन। उच्च गुणस्तरका हरिया पातहरू पनि काटेर फाल्नुपर्ने स्थिति आउँछ। टी बोर्डलाई पठाइएका इमेलमा सीआईएसटीएले यदि उत्पादन बन्द गर्ने अन्तिम मिति चाँड़ै घोषणा नगरिए उत्तर बङ्गालका केही बट–लिफ फ्याक्ट्रीहरूले असमबाट टी वेष्ट खरीद गरी न्यून गुणस्तरको चिया उत्पादन गर्न सक्ने चेताउनी दिएको छ। त्यसैले सबै टी वेष्ट फ्याक्ट्रीमै नष्ट गर्नुपर्ने व्यवस्था मिलाउन पनि टी बोर्डलाई आग्रह गरिएको छ। वेष्ट बेङ्गल युनाइटेड फोरम अफ स्मल टी ग्रोअर्स असोसिएशनका महासचिव रजत राय कार्जीले भने, सिजन अन्त्य गर्ने मिति र निर्देशनका साथै नयाँ वर्षमा फर्ष्ट फ्लश सिजन कहिले आरम्भ हुन्छ भनेर जानकारी पहिल्यै दिनु अत्यन्त आवश्यक छ। उल्लेखनीय छ, यस वर्षको चिया उत्पादन 10 फरवरीदेखि आरम्भ भएको थियो।



