मिरिक क्रिसमसको रङ्गमा रङ्गिएको छ। दिसम्बर महीनाको आरम्भदेखि नै मिरिकमा हर्षोल्लासको साथमा क्रिसमस पर्व पालन गरिँदैछ अनि यहाँको गिर्जा घर अनि ईसाई समुदायको घरहरूमा बत्तीको झिलिमिली अनि क्यारोल खेल्ने कार्यहरू भइरहेको छ। गिर्जा घरहरूमा प्रार्थना साथै प्रभु येशुको सुसमाचार बाँड्ने कार्य पनि भइरहेको छ। यता मिरिकमा सार्वजनिक रूपमा युनाइटेड ख्रीष्टियन माइनोरिटी वेल्फेयर सोसाइटीले सप्ताव्यापी क्रिसमस पर्व पालन गरिरहेको छ। यसबारे जानकारी गराँउदै सोसाइटीका पास्टर सागर कार्कीडोलीले यो वर्ष मिरिकमा हर्षोल्लासको साथमा क्रिसमस पर्व पालन गर्दै सुसन्देश ऱ्याली, प्रार्थना लगायत विविध कार्यक्रमहरू आयोजना गरिएको बताए।
यसै क्रममा युनाइटेड ख्रीष्टियन माइनोरिटी वेल्फेयर सोसाइटी मिरिकको तत्त्वावधानमा ख्रीष्टमसको सन्देश समाजमा फैलाउने उद्देश्यमा एक भव्य ख्रीष्टमस ऱ्याली सफलतापूर्वक सम्पन्न भएको कार्कीडोलीले जानकारी गराएका छन्। उक्त ऱ्याली मिरिकको पाँच माइलदेखि आरम्भ भएर मिरिक गार्डनमा समापन गरिएको तिनले बताए। पहिलो चरणमा पाँच माइलदेखि बाइपाससम्म गाड़ीमार्फत ऱ्याली निकालिएको थियो। यस क्रममा गाड़ीबाटै ख्रीष्टमसको सन्देश प्रचार गरियो अनि क्यारोलका गीतहरू प्रस्तुत गरियो। त्यसपछि बाइपासदेखि मिरिक गार्डनसम्म पैदल ऱ्याली आयोजना गरियो जहाँ सहभागीहरूले ख्रीष्टमसको सन्देश सुनाउँदै क्यारोल गीतहरू गाए।
ऱ्याली मिरिक गार्डनमा पुगेर ख्रीष्टमस सन्देश, प्रार्थना तथा गीत-सङ्गीतसहितको छोटो समारोहमा परिणत भयो। कार्यक्रमको सञ्चालन पास्टर लाडुप लेप्चाले गरेका थिए। आह्वान प्रार्थना पास्टर निवास तामाङले गरेका थिए भने क्यारोल गीतहरूको नेतृत्व दीपाङ्कर थापाले गरेका थिए। ख्रीष्टमस सन्देश पास्टर केवल लामाले दिए। पास्टर सागर कार्कीडोलिले धन्यवाद ज्ञापन गरे भने अन्तिम प्रार्थना रेभरेन उमेश सेवाले गरेका थिए.



