उत्तर बङ्गाल क्षेत्रीय ब्लड ब्याङ्कले अहिले रगतको अभाव झेलिरहेको छ। यस्तो परिस्थितिमा उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमाथि रगतको दुरुपयोग गरेको आरोप लागेको छ। उपचाराधीन रोगीका लागि ब्लड ब्याङ्कबाट ल्याइएको रगत विभिन्न वार्डहरूमा कारणबिना नष्ट भइरहेको गुनासो आएको छ। घटनाप्रति ब्लड ब्याङ्कका अधिकारीहरू असन्तुष्ट छन्। तिनीहरूको भनाइमा यस्तो अपव्यय रोक्न अस्पतालले रगत वितरण सम्बन्धी नयाँ दिशानिर्देश जारी गर्न आवश्यक छ। तर अस्पतालका सुपर डा. सञ्जय मलिकले भने, रगतको अपव्यय रोक्न यहाँ पहिले नै निश्चित गाइडलाइन लागू छ। यस विषयमा नियमित रूपमा छलफल पनि गरिन्छ। तर रगत भण्डारण वा प्रयोग नगर्ने विषय पूर्ण रूपले सम्बन्धित चिकित्सकमाथि निर्भर हुन्छ। चिकित्सकहरूले अझै जिम्मावारीपूर्वक र सचेत रूपमा काम गर्नुपर्छ।
क्षेत्रीय ब्लड ब्याङ्कबाट दैनिक औसत 60-70 युनिट रगत उत्तर बङ्गाल मेडिकल कलेजमा पठाइन्छ। त्यस्तै सिलगढ़ी जिल्ला अस्पतालसहित जिल्लाका अन्य सरकारी, निजी अस्पताल र नर्सिङ होमहरूबाट पनि रगत मागिन्छ। ब्लड ब्याङ्कले उपलब्ध भण्डारणअनुसार रगत उपलब्ध गराउँछ। तर चाड़पर्वको मौसम सकिएपछि अहिले रगतको अभाव भइरहेको छ। यस्तो अवस्थामा स्वेच्छिक सङ्घ–संस्थाहरूलाई रक्तदान शिविर आयोजना गर्न ब्लड ब्याङ्क प्रशासनले अनुरोध गरेको छ।
ब्लड ब्याङ्कका निर्देशक डा. मृदुमय दासले भने, रगत अभावका कारण मेडिकलमा उपचाराधीन रोगीहरूलाई आवश्यक रगत उपलब्ध गराउन सकिएको छैन। धेरैजसो अवस्थामा रोगीका आफन्तलाई एउटै ग्रुपको रगत दान गर्न अनुरोध गर्नु परेको छ। रगतदाताको अभावमा हामीले कसरी रगत दिने? त्यसै बेला अस्पतालमै पनि धेरै रगत नष्ट भइरहेको छ, जुन यस समस्याको प्रमुख कारण हो। प्राप्त जानकारीअनुसार, मेडिकलको प्रसुति, अर्थोपेडिक र सर्जरी विभागमा रगतको अपव्यय बढ़ी भइरहेको छ। रोगीको अपरेशनका लागि 24 घण्टाअघि आफन्तलाई एक वा दुई युनिट रगतको व्यवस्था गर्न भनिन्छ। त्यसपछि आफन्तहरूले ब्लड ब्याङ्कबाट रगत लिएर सम्बन्धित वार्डमा ल्याउँछन्। तर धेरैजसो अवस्थामा रोगीलाई अन्ततः रगतको आवश्यकता नपर्ने भएकाले त्यो रगत फाल्नुपर्छ।



