प्रधानमन्त्री आवास योजनाअन्तर्गत घर उपलब्ध गराउने नाममा लाभार्थीहरूबाट पैसा उठाएको आरोप भारतीय जनता पार्टीका एक पञ्चायत सदस्यमाथि लागेको छ। घटना फाँसीदेवा बाँस गाउँ किशमत्त ग्राम पञ्चायतको धामना गाछ क्षेत्रको हो। उता राहतको त्रिपाल वितरणमा तृणमूल कङ्ग्रेसका स्थानीय बूथ अध्यक्ष संलग्न रहेको र त्यसको विरोध गरेकै कारण सत्तारूढ़ दलका नेताहरूले षड़न्त्र गरिरहेका भाजपाको आरोप छ। आरोप लिएर लाभार्थीहरू शुक्रवार फाँसीदेवा बीडीओ कार्यालय पुगे। छजना लाभार्थीहरूले हस्ताक्षर गरेको एउटा ज्ञापन पत्र बुझाइयो। बीडीओ उपस्थित नभएकाले उक्त ज्ञापन फाँसीदेवा पञ्चायत समितिकी अध्यक्ष रिना एक्कालाई बुझाइयो। लाभार्थीहरूको भनाइअनुसार स्थानीय भाजपा पञ्चायत सदस्य विश्व विश्वासले योजनाअन्तर्गत घर दिलाउने प्रलोभन देखाई पैसा लिएका हुन्।
एक लाभार्थी आकास मिञ्जले भने, आमाको नाममा घर आएको थियो। त्यसपछि पञ्चायत सदस्य घरमा आएर 10 हजार रुपियाँ माग गरे। हामीले अनलाइनमार्फत 4500 रुपियाँ दियौँ। अमृत सोरेनले भने, पञ्चायत सदस्यले मलाई पनि घरका लागि पैसा मागे। तर मैले दिन अस्वीकार गरेँ। अर्की लाभार्थी जसनीता उराँवले भनिन्, मेरो नाममा आवास योजनाको घरका लागि विश्व विश्वासले 10 हजार रुपियाँ लिए।
यस विषयमा तृणमूल कङ्ग्रेसका स्थानीय बूथ अध्यक्ष विप्लव विश्वासले भने, धम्की दिएर भाजपा पञ्चायत सदस्यले लाभार्थीहरूबाट पैसा उठाएका छन्। हामी लाभार्थीहरूसित बीडीओ कार्यालय गएका थियौँ। ती रकम ब्याजसहित फिर्ता गरियोस् र उचित प्रशासनिक कारवाही होस् भन्ने हाम्रो माग छ। भाजपा पञ्चायत सदस्य विश्व विश्वासले भने, यदि यस्ता आरोपको प्रमाण प्रस्तुत गरे म स्वेच्छाले पद छोड्नेछु। सत्तारूढ़ दलका बूथ अध्यक्ष विप्लव विश्वासले पार्टीको शक्ति प्रयोग गरेर सरकारी राहतका त्रिपाल बाँड़िरहेका थिए। त्यसबारे हामीले प्रशासनलाई जानकारी गराएका थियौँ। त्यसकै रिसमा यस्तो षड़यन्त्र गरिँदैछ। फाँसीदेवा पञ्चायत समितिकी अध्यक्ष रिना एक्काले भनिन्, घरका लागि पैसा लिएको लिखित उजुरी हामीले पाएका छौँ। मुख्यमन्त्रीले यस योजनामा कसैलाई पैसा नदिन आदेश दिएकी छन्। त्यसपछि पनि यस्तो कार्य हुनु निन्दनीय हो। निश्चित रूपमा प्रशासनिक रूपमा छानबिन गरी कारवाही गरिनेछ।



