मिरिक खण्डअन्तर्गत मिरिक सिलगढ़ी मुख्य सड़कदेखि सिंगबुली निम्न प्रान्ततर्फ जाने मुख्य सड़कको अवस्था अत्यन्तै दयनीय र जीर्ण बनेको छ। वर्षौँदेखि मरम्मती तथा स्तरोन्नतिमा अदेखा हुँदा स्थानीय वासिन्दाहरूले दैनिक आवत–जावत, स्वास्थ्य सेवा, शिक्षा र आपतकालीन सेवामा गम्भीर समस्या भोग्दै आइरहेका छन्।
विगतका वर्षहरूमा पटक–पटक चुनाउ आए पनि नेताहरूले केवल आश्वासन मात्र दिएका र ठोस पहल नगरेका स्थानीय मानिसहरूको आरोप छ। यसै सन्दर्भमा सिङबुली निम्न प्रान्तका पञ्चायत सदस्य रोजेस थापाले गाउँवासीको पक्षमा विशेष प्रेस विज्ञप्ति जारी गरेर २५ नम्बर समष्टिका सभासद, जीटीए चीफ अनि सांसद राजु विष्टलाई औपचारिक पत्राचार गरेको बताएका छन्। प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, सम्बन्धित निकायबाट शीघ्र सकारात्मक प्रत्युत्तर नआए गाउँवासी तथा विभिन्न सङ्घ–संस्थाहरू एकजुट भई आफ्नै पहलमा सड़क निर्माण कार्य आरम्भ गर्ने निर्णय गरिएको छ।
यस विषयमा बोल्दै पञ्चायत सदस्य रोजेस थापाले भने, लामो समयदेखि क्षेत्रको सड़क जीर्ण आवस्थामा रहेकाले यातायातमा सबैलाई धेरै समस्या भइरहेको छ। साथै वाहन दुर्घटनाको पनि जोखिम बनि बढ़ेको छ। त्यसकारण सड़क मरम्मती शीघ्र गर्न अति आवश्यक छ। सड़क मरम्मतीका लागि सम्बन्धित निकायलाई शीघ्र पहल गरिदिने तिनले अनुरोध गरे। यदि कसैले मरम्मतीको पहल नगरे गाँउवासी नै अघि आएर सड़क मरम्मती गरिने तिनले बताएका छन्।



