खुफिया विभागबाट केही यस्ता सूचनाहरू प्राप्त भएका छन् जसको आधारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सिलगढ़ी चिकन नेक र उत्तर बङ्गालका महत्त्वपूर्ण स्थानहरू, पुल, सड़कहरू र सामरिक महत्त्वका प्रतिष्ठानहरूको सुरक्षा व्यवस्था कठोर बनाएको छ। सेनाका सबै अङ्गहरूद्वारा मोक ड्रिल र अभ्यास प्रशिक्षण कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। केही दिनअघि सीमा सुरक्षा बलको 46औँ बटालियनले एयर भ्युनजिक महानन्दा पुलमा मोक ड्रिलको आयोजना गरेको थियो। यसको नेतृत्व कमाण्डेण्ट सञ्जय डोभालले गरेका थिए। हालै पश्चिम बङ्गाल पुलिसको विशेष शाखा एसटीएफले तीनजना आतङ्कवादीलाई पक्राउ गरेको छ जसको सम्बन्ध बङ्गलादेश, पाकिस्तान र कश्मीरका आतङ्कवादी सङ्गठनहरूसित रहेको खुलासा भएको छ। ती आतङ्कवादीहरूका नाम अब्बासुद्दीन मौला, अजमल हुसैन र साहेब अली खान हुन्। अब्बासुद्दीन मौलालाई दक्षिण 24 परगना जिल्लाबाट पक्राउ गरिएको हो भने अजमल हुसैन र साहेब अली खानलाई बीरभूम जिल्लाबाट पक्राउ गरिएको हो।
अब्बासुद्दीन मौलाको सम्बन्ध पाकिस्तानका आतङ्कवादी सङ्गठनहरूसित पनि रहेको पाइएको छ। बङ्गलादेशको आतङ्कवादी सङ्गठन जमात उल मुजाहिद्दीन (जेएमबी) को स्लीपर सेलद्वारा बङ्गाल र भारतका युवाहरूलाई भ्रमित पार्ने र आतङ्कवादतर्फ प्रेरित गर्ने षड़यन्त्र भइरहेको जानकारी खुलेको छ। एसटीएफले यसबारे गरेको खुलासापछि समग्र बङ्गाल र देशभरि सनसनी फैलिएको छ। भारतीय खुफिया विभागले सेनालाई सिलगढ़ी चिकन नेकको सुरक्षा सन्दर्भमा सतर्क गराएको छ। सूत्रहरूले दिएको जानकारीअनुसार ती आतङ्कवादीहरूद्वारा युवाहरूलाई भ्रममा पारेर मजहबी शिक्षाको नाममा जेहादी बनाउन तयारी गरिँदै थियो। आरम्भमा तिनीहरूलाई सङ्गठनमा भर्ना गराउन मानसिक रूपमा प्रभावित गरिन्थ्यो। त्यसपछि सङ्गठनका नियम र तरिकाहरू सिकाइन्थ्यो। जो युवा सङ्गठनप्रति पूर्ण निष्ठा, गोपनीयता र आस्थासहित प्रतिबद्ध हुन्थे तिनीहरूलाई मात्र छानिन्थ्यो।
छनोट भएका युवाहरूलाई मजहबी शिक्षा दिइन्थ्यो र त्यसको आड़मा तिनीहरूलाई जेहादी बनाइन्थ्यो। यस क्रममा तिनीहरूको मानसिक ब्रेनवास गरिन्थ्यो। पछि कश्मीरस्थित आतङ्कवादी सङ्गठनका क्याम्पहरूमा वा पाकिस्तान पठाएर तिनीहरूलाई तालिम दिइन्थ्यो। एसटीएफको सोधपुछमा खुलेको तथ्यअनुसार ती आतङ्कवादीहरूको बङ्गलादेशदेखि पाकिस्तानसम्म थुप्रै कुख्यात आतङ्कवादी सङ्गठनहरूसित सम्बन्ध रहेको छ। तिनीहरूको फोन इन्बक्स चेक गर्दा तिनीहरूको दीर्घकालीन योजना के थियो भन्ने पनि पत्तो लागेको छ। तिनीहरूको उद्देश्य यस्तो युवा फौज तयार पार्नु थियो जो जुनसुकै बेला देशका लागि आत्मघात गर्न पनि तयार रहन सकून्।खुफिया विभागबाट प्राप्त सूचनाको आधारमा केही दिनअघि सिलगढ़ी चिकन नेकका सामरिक ठाँउहरूको सुरक्षा तयारीको पुनरावलोकन गरियो। चिकन नेकको एउटा महत्त्वपूर्ण सेतु जसले पूर्वोत्तर भारतलाई भारतको अन्य भागसित जोड्ने सिलगढ़ीको महानन्दा पुल हो। यस पुलको सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ। सीमा सुरक्षा बलका जवानहरूले मोक ड्रिलको क्रममा पुलको सुरक्षा, वरिपरि क्षेत्रको निगरानी तथा आपतकालीन अवस्थाको सामना गर्ने कौशल प्रस्तुत गरेका थिए र सर्वसाधारणलाई त्यस्ता परिस्थितिबाट कसरी जोगिने भन्ने विषयबारे जानकारी दिएका थिए।



