अपरेशन सिन्दुरपछि देशभरि युद्धको स्थिति छ। देशभरि चरम तनाउ छ। यसैबीच हासीमारास्थित वायु सेना हवाईअड्डामा लुक्दै गर्दा एक युवकलाई सेनाले पक्राउ गरेको छ। पछि तिनलाई पुलिसको जिम्मा लगाइयो। पक्राउ पर्ने युवकको नाम सुजित घोष हो। तिनको घर अलिपुरद्वार शहरदेखि निकै टाढ़ा घाग्रा क्षेत्रमा छ। तिनी घाग्राबाट त्यो काम गर्न किन यति टाढ़ा आए भन्ने कुराको रहस्य छ। मङ्गलवार मध्य रातमा भारतीय सेनाले अचानक हवाई आक्रमण गरी पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेका धेरै आतङ्कवादी शिविरहरू ध्वस्त पारेको छ।
हासीमाराको यस अड्डामा राफेल लड़ाकु विमानहरू छन्। यो राफेल विमान युद्धमा भारतको ट्रम्प कार्ड बन्न सक्छ। त्यसैबीच उक्त युवकको शङ्कास्पद गतिविधिमाथि प्रश्न उठेको छ। तिनी अलिपुरद्वारको हासीमारा वायु सेना बेसको सीमा पर्खालको छेउमा रहेको रूखमा चढ़ेर भित्र चिहाएको आरोप छ। बेसको जिम्मावारीमा रहेका सुरक्षाकर्मीहरूको नजरमा आयो। उक्त युवकलाई जवानहरूले रूखबाट तल झारे। पक्राउ परेका युवकलाई बुधवार दिउँसो हासीमारा चौकी पुलिसलाई सुम्पियो। हासीमारा चौकी पुलिसले तिनलाई जयगाउँ पुलिस चौकीमा पठायो।
बिहीवार जयगाउँ पुलिस चौकीले युवकलाई अलिपुरद्वार महकुमा न्यायालयमा प्रस्तुत गरेको थियो। न्यायालयले तिनलाई 7 दिनको पुलिस हिरासतमा राख्न आदेश दिएको छ।पुलिस अनि पारिवारिक सूत्रअनुसार सुजित घोष लामो समयदेखि लागू पदार्थको लतमा थिए। मादक पदार्थ सेवन गरेर मात्र तिनी रूखमा चढ़ेका थिए वा त्यसपछि अन्य कुनै कारण थियो भनेर पुलिसले जाँच गरिरहेको छ। अलिपुरद्वार जिल्लाका पुलिस अधीक्षक वाई रघुवंशीले आरोपीलाई पक्राउ गरिएको बताए। घटनाको जाँच चलिरहेको छ।



