सिलगढ़ीमा नाबालिका अपहरण घटनामा राजेश राय नामक एक युवकलाई पक्राउ गरिएको छ। पक्राउ परेका युवकको घर भक्तिनगर थानाअन्तर्गत आशीघर आउटपोस्टको हातियाडाङ्गा क्षेत्रमा छ। यस घटनाले पुरै क्षेत्रमा होहल्ला मच्चाएको छ। भक्तिनगर थाना पुलिस सूत्रअनुसार बुधवार दिउँसो आशीघर आउटपोस्टमा आरोपीविरुद्ध नालिश दर्ता गरिएको थियो। प्राप्त नालिशमा आरोपीले सोही क्षेत्रकी एक नाबालिकालाई विभिन्न प्रलोभन देखाएर अपहरण गरेका थिए। नाबालिकाको परिवारले छोरी नभेटिएपछि पुलिसको सहयोग लिएको थियो। जाँच आरम्भ भएपछि केही घण्टामै अपहृत नाबालिका उद्धार गरिएको हो। साथै आरोपीलाई पनि पक्राउ गरिएको छ। प्राप्त जानकारीअनुसार उक्त नाबालिका आरोपीकै घरमा फेला परेकी थिइन्। त्यसपछि आशीघर आउटपोस्टका पुलिसले नाबालिकालाई चाइल्ड होममा पठाएको छ। आरोपीलाई आज जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरिएको छ। उता छोरीलाई भेट्टाइएपछि परिवार सदस्यहरूले राहतको सास फेरेका छन्।



