सरकारी तथा गैरसरकारी कार्यालयहरूले नेपाली भाषामा साइनबोर्ड लगाउनुपर्ने जीटीएको निर्देशलाई भाषा संरक्षणको निम्ति रूपान्तरणकारी पहल भनेर भागोप्रमो सियोक गोपालधारा ओकेटी समष्टिका युवा शक्ति अध्यक्ष तथा जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गोलेले बताएका छन्। जीटीए कार्यपाल अनित थापाले नयाँ नेपाली वर्षको अवसरमा बोल्दै जीटीए क्षेत्रका साइनबोर्डहरू अनिवार्य रूपले नेपाली भाषामा लेख्नुपर्ने बताएका थिए।
थापाको बयानपछि भागोप्रमो युवा शक्तिले उक्त निर्देशको कार्यान्वयन सुनिश्चित गर्न अभियान चलाइरहेको छ। मिरिक महकुमा क्षेत्रमा पनि अभियानले द्रुत गति लिने बताइएको छ। जनसम्पर्क अधिकारी गोलेले मिरिक महकुमाका सबै हितधारकहरूलाई जीटीए कार्यपाल थापाको यस पहललाई समर्थन गर्दै नेपाली भाषाको प्रयोगलाई प्राथमिकता दिने आग्रह गरेका छन्। तिनले अन्य भाषामा साइनबोर्ड लगाए पनि अनिवार्य रूपले बोर्डमा नेपाली भाषामा पनि लेख्नुपर्ने भनेर जोड़ दिएका छन्।
मिरिक महकुमाका ग्राम पञ्चायत, नगरपालिका, सरकारी कार्यालय, होटल, होमस्टे, दोकानपाटसितै सरकारी अनि गैरसरकारी कार्यालयका साइनबोर्डमा अनिवार्य रूपले नेपाली भाषामा पनि लेख्नुपर्ने गोलेले बताए। युवा शक्ति मिरिकले अभियानलाई भोलिदेखि तीव्रता प्रदान गर्ने तिनले थप बताए। भाषा संरक्षणको निम्ति वर्षमा एक दिन भाषा सङ्ग्रामीहरूलाई स्मरण गरेर मात्र नहुने बताउँदै ती भाषा सङ्ग्रामीहरूको अथक प्रयास अनि बलिदानले नै भारतीय संविधानमा नेपाली भाषाले मान्यता पाएको हुनाले भाषाको संरक्षणलाई सबैले प्राथमिकतामा राख्नुपर्ने गोलेले बताए।



