इस्लामपुर नजिकैको चोपड़ाको कालागाछ क्षेत्रमा मङ्गलवार बेलुका भएको एक भयावह सड़क दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने अन्य दुई अन्य गम्भीर रूपले घाइते भएका छन्। चारैजना राजगञ्ज क्षेत्रका साथीहरू मोटरसाइकल यात्रामा निस्किएका थिए। मृत युवकहरू अकालुगाछ, सन्न्यासीकट्टा ग्राम पञ्चायतका चन्दन राय अनि फूलबारी 2 ग्राम पञ्चायतअन्तर्गत जोतियाकाली, जयदेवभिट्टाका फिरदोज अली हुन्। उता घाइतेहरूमा अकालुगाछकै राजेश मोहम्मद र अम्जद अली रहेका छन्।
राजेश मोहम्मदअनुसार दुर्घटनाको बेला कसैले पनि हेल्मेट लगाएको थिएन। कालागाछस्थित राष्ट्रिय राजमार्गमा ओभरटेक गर्ने क्रममा तिनीहरू चढ़ेको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको पिकअप भ्यानसित ठोक्किन पुग्यो। स्थानीय वासिन्दा अनि ट्राफिक पुलिसले तुरुन्तै घटनास्थलमा पुगेर तिनीहरूलाई दलुवा ब्लक स्वास्थ्य केन्द्र लगे। चन्दन रायलाई अस्पताल पुग्न साथ मृत घोषणा गरियो। बाँकी तीनजनालाई उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल रेफर गरिएको थियो जहाँ फिरदोज अलीको उपचारको क्रममा मृत्यु भयो। अम्जद अलीको हाल उपचार जारी छ। दुर्घटनापछि पिकअप भ्यान चालकले सुइँकुच्चा ठोकेको छ। पुलिसले गाड़ीको खोजी गरिरहेको छ। यस घटनाले राजगञ्जको अकालुगाछ र जोतियाकाली क्षेत्रमा शोकको लहर छाएको छ।



